काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । जेठ २ गते नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । जेठ १ गतेसम्म कायम कम्पनीको अन्तिम शेयरमूल्य ४७८ रुपैयाँ २२ पैसाको आधारमा नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयरपछिको मूल्य प्रतिकित्ता २८९ रुपैयाँ ११ पैसा तोकेको हो ।
यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ २ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा जेठ १ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न योग्य भएका हुन । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासनको मिति भने तय हुन बाँकी रहेको छ ।