काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ २ गते बुकक्लोज गरेको छ । बुक क्लोजको आधारमा जेठ १ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर असार १२ गतेसम्म निष्कासनमा रहनेछ । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार –६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयरबापत् संकलित रकममध्ये ४ करोड रुपैयाँ ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको बखत भुक्तानी गर्न बाँकी बक्यौता तिर्न, सो आयोजनाको दीर्घकालीन ऋण रकम बैंकको आग्रहअनुसार साँवा रकम घटाउन तथा अन्य अल्पकालीन ऋणको साँवा र ब्याज भुक्तानी गर्नका लागि १९ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ खर्चिने बताएको छ । योबाहेक बाँकी रहेको १५ करोड रुपैयाँ भिजन इनर्जी एण्ड पावर लिमिटेडद्वारा प्रवर्द्धित ५७ दशमलव ५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजनामा लगानी गर्न लिइएको रकम भुक्तानी गर्न प्रयोग गर्ने जानकारी कम्पनीले दिएको छ ।