काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले जेठ २८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुड ल्याण्ड एण्ड व्यांक्वेट प्रालि बत्तीसपुतली, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
अन्य कुनै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।