हालै अन्तरराष्ट्रिय संस्था ‘फिच’ले नेपालको सार्वभौम शाखको मूल्यांकन गरी स्तर निर्धारण गरेपछि त्यसले पार्ने विविध प्रभावका बारेमा चर्चा परिचर्चा प्रारम्भ भएको छ । सन् २०१९ मा प्रारम्भ भएको यस प्रकारको मूल्यांकनको नतिजा आएपछि बहने अहिले नेपाल विश्व–मञ्चमा नयाँ पहिचानका साथ प्रवेश गरेको मान्न सकिन्छ ।
यो आलेखमा शाखको स्तर निर्धारणले पार्ने प्रभावहरूका बारेमा चर्चा गर्नुका अतिरिक्त यस्तो स्तर निर्धारणका लागि आवश्यक पर्ने मूल्यांकन गर्ने आधार एवं त्यसको संक्षिप्त इतिहासका बारेमा पनि चर्चा गरिनेछ ।
फिच रेटिङ इतिहास
फिच रेटिङको इतिहास खोतल्ने हो भने अमेरिकाका उद्योगपति, व्यवसायी, लेखक एवं अर्थशास्त्री जोन नोल्स फिचको नाम अग्रपंक्तिमा आउँछ । उनैले सन् १९१४ को डिसेम्बर महीनामा अमेरिकाको वालस्ट्रिटमा फिच पब्लिसिङ कम्पनीको नाममा यो संस्थाको स्थापना गरेका थिए । फिचले सन् १९२० मा नै कुनै पनि कम्पनीको शाखलाई अक्षरात्मक रूपमा तीनओटा ए देखि लिएर डी सम्मको स्तर निर्धारण गर्ने कार्यको शुरुआत गरेको थियो ।
पछि सन् १९७५ मा यो एजेन्सीलाई अमेरिकाको सेक्युरिटी एन्ड एक्सचेन्ज कमिशनले स्तर निर्धारण गर्ने राष्ट्रिय एजेन्सीका रूपमा मान्यता प्रदान गर्यो । सन् २००० मा यसले सिकागोमा रहेको अर्को शाख निर्धारण गर्ने ‘डफ एन्ड फेल्प्स’ र ‘थमसन फिनान्सियल बैंक वाच’लाई खरीद गरेपछि अहिले यो विश्वकै तेस्रो ठूलो शाख निर्धारण गर्ने संस्थाका रूपमा रहेको मानिन्छ । अहिले यसका ४० वटा अन्तरराष्ट्रिय कार्यालयमा १६०० भन्दा बढी तथ्यांक विश्लेषकसहित ५००० भन्दा बढी कर्मचारी कार्यरत छन् ।
के हो सार्वभौम शाखको स्तर निर्धारण ?
कुनै पनि देशको कर्जा तिर्नसक्ने सामर्थ्यका साथै त्यहाँ गरिने लगानीको प्रतिफल सुरक्षाका सम्बन्धमा स्वतन्त्र ढंगले गरिने मूल्यांकनलाई सार्वभौम शाखको स्तर मूल्यांकन मान्न सकिन्छ । यसको निष्कर्षले कुनै पनि देशले कर्जा चुक्ता गर्न सक्ने कि नसक्ने भनी निर्धारण गर्नुका साथै त्यहाँ अहिले गरिने लगानीको भविष्य आर्थिक, राजनीतिक एवं अन्य कारणले कति जोखिमयुक्त छ भनी आकलन गर्ने गर्छ ।
विश्वसनीयता
यस्ता एजेन्सीले गर्ने मूल्यांकनको विश्वसनीयतामाथि शंका नै गर्नु पर्दैन भन्नेचाहिँ होइन । खास गरी सन् २००७ पछि देखिएको विश्व आर्थिक संकटको आलोकमा यस्ता एजेन्सीहरूको मूल्यांकनको नतिजा माथि प्रश्न चिह्न खडा गर्नेहरू प्रशस्त छन् । न्यूयोर्क टाइम्सका अनुसार सन् २००६ मा मूल्यांकनमा तीनओटा ‘ए’ प्राप्त गरेका संस्थामध्ये करीब ९३ प्रतिशत संस्थाहरूमा सन् २०१० मा नै संकट आइसकेको थियो । यस्तै प्रकारको आलोचना क्रेडिट सुइसे बैंकको सन्दर्भमा पनि गर्ने गरिन्छ जुन बैंक धराशयी हुने बेलासम्म पनि फिचको मूल्यांकनमा ‘ए धनात्मक’ को स्तरमा परेको थियो ।
यति भए तापनि विश्वका प्रतिष्ठित र विश्वसनीय रेटिङ एजेन्सीमध्ये ‘फिच’ पनि एक हो । यसैले कुनै पनि देशमा लगानी गर्नुपूर्व लगानीकर्ताले ‘फिच’ले उक्त देशको मूल्यांकन कसरी गरेको छ भनेर हेर्न उसले निर्धारण गर्ने शाखको स्तरलाई हेर्ने गर्छन् । त्यसैले फिचले निर्धारण गर्ने कुनै पनि देशको शाखको स्तरलाई लगानीकर्ता, लगानी मध्यस्थकर्ताहरू (इन्भेस्टमेन्ट बैंक), ऋण जारी गर्ने एशियाली विकास बैंक, विश्व बैंकजस्ता संगठन तथा अन्य दातृ निकायले नजिकका साथ नियालिरहेका हुन्छन् ।
फेरि फिचले आर्थिक अवस्थाको आधारमा मात्र नभई सामाजिक एवं राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर सार्वभौम शाखको मूल्यांकन गरी स्तर निर्धारण गर्ने गर्छ । साथै यसले स्थानीय सरकार तथा निकायहरू, वित्तीय संस्थाहरू समेतको अवस्थाको गहिरो विश्लेषण गरी देशको सार्वभौम शाख निर्धारण गर्ने गर्छ । यसै कारणले पनि यसको नतिजालाई विश्वव्यापी रूपमा नै विश्वसनीय मानिन्छ ।
लन्डन र न्यूयोर्कमा मुख्यालय रहेको यो रेटिङ एजेन्सीले आफ्नो विश्वसनीयताका कारण विश्वस्तरका पुरस्कारहरू पनि जितेको छ ।
स्तर–वर्गीकरण र नेपालको निर्धारित स्तर
फिचको रेटिङलाई एदेखि डी श्रेणीसम्म निर्धारण गरी प्रत्येकमा पुनः तीन श्रेणी बनाइएको हुन्छ । एएए, एए, र ए जस्तै बीबीबी, बीबी, बी, सीसीसी, सीसी, सी तथा डी मा आरडी, डी र एनआर गरी श्रेणी विभाजन गरिएको हुन्छ ।
यस्तो श्रेणीमा सबैभन्दा उत्तम तीनवटा ए र सबैभन्दा निम्न डी लाई मानिन्छ । एनआर भनेको मूल्यांकन नगरिएको अवस्थालाई बुझाउँछ जुन अवस्था केही दिनअघिसम्म नेपालको रहेको थियो ।
तीनओटा ए भने अहिलेसम्म अमेरिकाले मात्र प्राप्त गरेकोमा उसले पनि गतवर्ष घटुवामा परेर एए धनात्मक रेटिङ मात्र प्राप्त गरेको छ ।
फिचले अहिले नेपालको सार्वभौम शाखको मूल्यांकन गरी बीबी ऋणात्मक नतिजा सार्वजनिक गरेको छ । भारतको रेटिङ पनि बीबीबी ऋणात्मक रहेको छ । यस अर्थमा नेपाल र भारतको तुलना गर्ने हो भने नेपालले भारतको भन्दा एक तह मात्र कम रेटिङ प्राप्त गरेको छ ।
बीबी नतिजाले समग्रमा ऋण तथा लगानीका लागि विचारणीय अवस्थाको द्योतन गर्छ । बी श्रेणीको तीनओटा नतिजामा बीबी ऋणात्मक सबैभन्दा कमजोर अवस्था हो । ‘बी’ भन्दा भने उत्तम अवस्था हो । ‘बी’ ले कर्जा तथा लगानी डुब्न सक्ने प्रबल सम्भावना हुने तथा नियमित कर्जा भुक्तानीमा समेत समस्या हुने देखाउँछ । यसले भविष्यमा आर्थिक एवं व्यावसायिक क्षेत्रमा कथं प्रतिकूल अवस्था सृजना भयो भने त्यो देशमा गरिने लगानी डुब्ने जोखिमको अवस्थातर्फ परिलक्षित गर्छ । नेपाल यसभन्दा माथिल्लो चरणमा हुनु पक्कै पनि सुखद अवस्था हो ।
यस्तो नतिजाका लागि फिचले नेपालका केही महत्त्वपूर्ण तथ्यहरूको विश्लेषणलाई आधार मानेको छ । खासगरी नेपालको आन्तरिक एवं बाह्य ऋणको मात्रा न्यून भएको, बाह्य क्षेत्र (विदेशी मुद्राको सञ्चिति) अधिक भएको तथा जलविद्युत् क्षेत्रमा भएको विकासले यस्तो नतिजा आउन मद्दत पुगेको उसले बताएको छ । नेपालको सरकारी ऋणमध्ये हाल करीब ४० प्रतिशत ऋण बाह्य क्षेत्रको रहेको र त्यसको पनि अधिकांश अंश सहुलियतपूर्ण रहेको अवस्थाले पनि सकारात्मक नतिजाका लागि योगदान गरेको ‘फिच’ को निष्कर्ष छ ।
कुल गार्हस्थ्य उत्पादनको ४४ प्रतिशत सरकारी ऋण भएको तथ्यलाई अनुमानित ५५ प्रतिशतभन्दा कम भएको तथा अर्को वर्षदेखि अल्प विकसित देशबाट स्तरोन्नति भएर विकासशील देश भएपछि पनि नेपालले सहुलियतपूर्ण ऋण प्राप्त गर्नेसमेत अपेक्षामा मूल्यांकनको नतिजा अपेक्षाकृत सकारात्मक आएको छ ।
बैंकिङ क्षेत्रले निजीक्षेत्रमा प्रवाह गरेको कर्जाको मात्रा कुल गार्हस्थ्य उत्पादनको ८६ प्रतिशतको हाराहारीमा रहेको भए पनि जीडीपीकै १०६ प्रतिशतको हाराहारीमा भएको विप्रेषणमा आधारित निक्षेप भएबाट त्यसले पनि जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुर्याएको छ । केही वित्तीय परिसूचकहरू खस्कँदो अवस्थामा रहे पनि ती अझै अनुकूलताकै सीमाभित्र रहनाले पनि नेपालको शाख मूल्यांकनलाई सकारात्मक नतिजातर्फ डोर्याउन मद्दत पुगेको देखिन्छ ।
राजनीतिक अस्थिरताका कारण बारम्बार सरकारहरू परिवर्तन भएर दीर्घकालीन नीति निर्माण तथा विकास योजना तर्जुमा गर्न समस्या देखिए पनि देशको आर्थिक तथा वित्तीय व्यवस्थापनमा आम रूपमा एकमत रहेको र यस्तो राजनीतिक अस्थिरताले केन्द्रीय बैंकको सञ्चालनमा खासै तात्त्विक असर नगरेको पक्षले पनि नेपालको सकारात्मक नतिजाका लागि बाटो खुला गरेको फिचले बताएको छ ।
समग्रमा भन्नुपर्दा यो नतिजाले नेपालमा गरिने लगानी डुब्दैन र त्यसले उचित प्रतिफल दिन्छ भन्ने संकेत गरेको छ । साथै वित्तीय स्रोत परिचालनका लागि नेपालमा अझ प्रशस्त ठाउँ छ भन्ने पनि यो नतिजाले देखाएको छ ।
शाख निर्धारणका उपलब्धि र अबको बाटो रेटिङले विशेष गरी अन्तरराष्ट्रिय क्षेत्रमा देशको अवस्थालाई स्पष्टसँग झल्काउने हुनाले विश्वसनीयता अभिवृद्धि गर्न मद्दत गर्छ । शाख मूल्यांकनले कुनै पनि देश लगानीको लागि योग्य छ भन्ने दर्शाउने गर्छ । अर्को शब्दमा भन्ने हो भने रेटिङको नतिजा कमजोर नै देखिए पनि यसले कमसे कम अन्तरराष्ट्रिय लगानीको लागि योग्य मुलुकको श्रेणीमा राख्ने हुनाले यसको छुट्टै विशिष्ट महत्त्व रहन्छ । रेटिङ नै नभएको अवस्थाबाट रेटिङ हुनुलाई नै पनि एक महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।
सार्वभौम शाख मूल्यांकन भएको मुलुकमा वैदेशिक लगानीका लागि थप बाटो खुला हुन्छ । गतवर्ष भएको लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुरूप वैदेशिक लगानी आउन नसक्नुका पछाडि देशको शाख मूल्यांकन नहुनुलाई पनि प्रमुख कारण मानिएको थियो ।
रेटिङ भएपछि यदि कथं विश्व दातृ निकायहरूबाट देशले ऋण तथा सहयोग माग्नुपर्यो भने त्यसलाई सहजीकरण गर्न उल्लेखनीय रूपमा मद्दत गर्छ । त्यसमाथि चीन र भारत छोडेर अन्य छिमेकी मुलुकहरूले नेपालको भन्दा असल नतिजा प्राप्त नगरेका कारण पनि मूल्यांकनको यस्तो नतिजाले नेपाललाई यस क्षेत्रमा तुलनात्मक रूपमा लगानीका लागि अनुकूल देशका रूपमा प्रस्तुत गरेको छ ।
समग्रमा भन्नुपर्दा यस्तो मूल्यांकन पहिलोपटक हुनु नै नेपालको लागि उपलब्धिपूर्ण मान्न सकिए पनि आगामी दिनमा हुने पुनर्मूल्यांकनमा अहिलेको नतिजामा ‘नन इन्भेस्टमेन्ट ग्रेड’मा परेर सन्देहास्पद नतिजा प्राप्त गरेको नेपालले ‘इन्भेस्टमेन्ट ग्रेड’तर्फ उकालो लाग्ने गरी आर्थिक एवं राजनीतिक वातावरणमा सुधार गर्नु अपरिहार्य देखिन्छ ।
(लेखक सम्पत्ति शुद्धीकरण विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।)