काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अवितरित ९३ हजार ६२९ कित्ता हकप्रद शेयर पुनः लिलामीमा आउने भएको छ । असार २४ गतेदेखि कम्पनीले सर्वसाधारणतर्फको 'लक-इन' खुला भइसकेको उक्त शेयर असार ३२ गतेसम्म लिलामीमा विक्री गर्न लागेको हो ।
कम्पनीको यी शेयर असार ७ गतेपछि कारोबारयोग्य भइसकेको छ । यसअघि कम्पनीले जेठ ११ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाबाट विक्री खुला गर्दा वितरण नभएको उक्त शेयर पुनः लिलामीमा विक्री गर्न लागेको हो ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले खरीद गर्न चाहेको दरसमेत खुलाइ आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोहीबराबरको हकप्रद शेयर निष्कासन गरेको हो ।
विक्री नभएको बाँकी शेयरसमेत बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ ।