काठमाडौं । गत फागुन २८ गते परिपक्व भएको एनआईसी एशिया ग्रोथ फण्डको प्रतिफल सहितको रकम फिर्ता भुक्तानी शुरु गरिएको छ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेडले असार ९ गतेदेखि प्रतिफलसहित रकम फिर्ता भुक्तानी गर्न शुरु गरिएको जानकारी दिएको हो ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड ३५ लाख २० हजार इकाई जारी गरेको थियो । योजना परिपक्वपश्चात् योजनाको सम्पूर्ण सम्पत्तिलाई नगदमा परिणत गरिएको हो ।
जेठ ३० गते योजनाको लेखापरीक्षण कार्य सम्पन्न गरी असार ९ गते लेखापरीक्षकबाट अन्तिम खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ४३ पैसा कायम भई सोही मूल्यका आधारमा कर कट्टा गरी इकाईधनीहरूलाई रकम फिर्ता भुक्तानी गरिएको हो ।
असार ११ गतेसम्म आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत योजना व्यवस्थापकले भनेको छ । यस योजनाले आर्थिक वर्ष ०७४/७५ मा इकाई बाँडफाँट गरेको थियो ।
आर्थिक वर्ष ०७५/७६ देखि नै प्रतिफल वितरण गर्न शुरु गरेको योजनाले सात वर्ष अवधिमा वितरण गरेको जम्मा प्रतिफल ९९ दशमलव ३० प्रतिशत रहेको छ । योजना परिपक्क भएको अवधिसम्म प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ४४ पैसा रहेको छ ।