काठमाडौं । पछिल्लो साढे २ वर्षयता शेयर बजार बियरिस ट्रेन्डमा छ । २०७८ भदौ २ गते ३१९८ विन्दुको ऐतिहासिक रेकर्ड बनाएको नेप्से त्यसयता घटेर १८०० विन्दुसम्म पुगे पनि हाल २ हजार विन्दुमुनि छ । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ हजार ९७२ दशमलव ०९ विन्दुमा छ ।
नेप्से परिसूचक घटेसँगै सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा आएको छ । साढे २ वर्षको अवधिमा केही कम्पनीको शेयर मूल्य ७५ प्रतिशतसम्म घटेर अहिलेसम्मकै सस्तो भएको छ ।
तीमध्ये वाणिज्य बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । अन्य क्षेत्रका कम्पनीको तुलनामा शेयर संख्या अधिक भएको र प्रतिफल घटेकाले वाणिज्य बैंकको शेयर मूल्य घटेको हो । शेयर मूल्य घटेसँगै धेरैजसो लगानीकर्ताले गुमाएका छन् ।
तर, कुनै कम्पनीको शेयरबाट लगानीकर्ताले २३९ दशमलव ६९ प्रतिशत लाभ पनि प्राप्त गरेका छन् । बोटलर्स नेपाल बालाजु कम्पनीका लगानीकर्ताले उक्त लाभ पाएका हुन् ।
कम्पनीको शेयर मूल्य फेब्रुअरी ११ मा प्रतिकित्ता रू. ६ हजार ३६० दशमलव २ रहेकोमा त्यसपछि लगातार १३ दिनसम्म सकारात्मक सर्किट लागेर फेब्रुअरी २९ मा प्रतिकित्ता २१ हजार ६०५ दशमलव १० पुगेको छ । अर्थात् १८ दिनमा कम्पनीको शेयर मूल्य कित्ताकै रू. १५ हजार २४४ दशमलव ९ बढेको छ ।
यससँगै यो कम्पनीको शेयर दोस्रो सर्वाधिक महँगो बनेको छ । नेपाली शेयर बजारमा सर्वाधिक महँगो शेयर युनिलिभर नेपालको छ ।
कसरी बन्यो बोटलर्स नेपाल बालाजुको शेयर सर्वाधिक दोस्रो महँगो ?
कम्पनीको शेयर आपूर्ति अति न्यून हुँदा दैनिक थोरै कित्ता कारोबार हुने गरेको थियो । यही कारण कम्पनीको शेयर मूल्य अस्वभाविक बढेको जानकार बताउँछन् । दैनिक हजारौं कित्ता शेयर खरीदका लागि माग भए पनि सर्किट लागेपछि कम्पनीको कारोबार नै नहुने गरेको देखिएको छ ।
कम्पनीमा संस्थापकको हिस्सा ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत छ । नेप्सेमा कम्पनीको सर्वसाधारणतर्फ ४ लाख ८७ हजार २२१ कित्ता मात्रै शेयर छ । अति न्यून संख्यामा शेयर भएकाले विक्री चाप नै आउँदैन । कम्पनीको शेयर सीमित व्यक्तिसँग मात्रै भएकाले दैनिक ५० कित्ता मात्रै कारोबार हुने गरेको छ ।
अर्थतन्त्रमा आएको संकुचनका कारण पछिल्लो समय कम्पनीको व्यवसाय खस्किँदो छ । चालु आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससम्ममा कम्पनी रू. १५ करोड १५ लाख घाटामा छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. २९ करोड २१ लाख नाफामा थियो ।
आर्थिक मन्दीका कारण कुल आम्दानी घट्दा र वित्तीय लागत बढ्दा कम्पनी घाटामा गएको हो । साथै, कच्चा पदार्थको मूल्य वृद्धि, विक्रीवितरण लागत बढेकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनी घाटामै भए पनि लगानीकर्ताको आकर्षण भने कायमै देखिएको छ । यसो हुनुको प्रमुख कारण भने कम्पनीको शेयर सख्या कम हुनु रहेको जानकार बताउँछन् । साथै कम्पनीको जगेडा कोष आकर्षक छ । यसले पनि कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखिएको जानकार बताउँछन् ।
अहिले कम्पनी घाटामा भए पनि दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा रू. ५ अर्ब ५२ करोडभन्दा बढी छ । सो सञ्चित रकमबाट कम्पनीले आगामी वर्षहरूमा बम्पर लाभांश दिनसक्छ । सोही आशमा पनि लगानीकर्ता कम्पनीको शेयरमा आकर्षित भएको एक लगानीकर्ताले बताए ।