काठमाडौं । राइजिङ हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारी गर्न परामर्श सेवाका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सोमवार दुवै कम्पनीबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् । मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनादेखि शेयर निष्काशनसम्मका सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ ।
दुई कम्पनीबीच भएको सम्झौताअनुसार राइजिङ हाइड्रोपावरको पूँजी संरचना, प्रबन्धपत्र संशोधन तथा नियामक निकायहरूसँग आवश्यक समन्वयका लागि मुक्तिनाथ क्यापिटलले पूर्ण सहकार्य गर्नेछ। कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणका लागि ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । उक्त योजनाबमोजिम क्यापिटलले काम गर्न सहयोग गर्नेछ । २०६२ साल फागुन २२ गते स्थापना भएको कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ९९० किलोवाट क्षमताको सेलाङ खोला साना जलविद्युत् आयोजनाबाट वार्षिक ६ दशमलव ७७ गीगावाट विद्युत उत्पादन गर्दै आएको छ ।
कम्पनीले भविष्यमा अन्य पाँच जलविद्युत् कम्पनीमा पनि लगानी प्रवर्द्धन गर्ने लक्ष्य लिएको जानकारी दिएको छ । मुक्तिनाथ क्यापिटलसँगको सहकार्यले कम्पनीलाई संस्थागत सुधार, पूँजी विस्तार, र सार्वजनिक सहभागिता सुनिश्चित गर्न थप बल पुग्ने अपेक्षा गरिएको छ ।