काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम गर्न थप ५० अर्ब रुपैयाँभन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा राख्नुपर्ने भएको छ । केन्द्रीय बैंकले बुधवार एकीकृत निर्देशन २०८१ संशोधन गरी सीआरआरको न्यूनतम ९० प्रतिशत नगद राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो । हालसम्म बैंक, वित्तीय संस्थाहरूले सीआरआरअन्तर्गत छुट्ट्याउनुपर्ने कुल निक्षेपको ४ प्रतिशत रकममध्ये ७० प्रतिशत नगद राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । अब भने बैंकहरूले सीआरआरबापत छुट्ट्याएको रकमबाट राष्ट्र बैंकमा राख्नुपर्ने अंश वृद्धि भएको छ । हाल बैंक, वित्तीय संस्थासँग ६९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप छ । त्यसको सीआरआर कायम गर्न २ खर्ब ७६ अर्ब रुपैयाँ हाराहारीमा छुट्ट्याउँदै आएकोमा १ खर्ब ९३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राख्दै आएका छन् । अब भने केन्द्रीय बैंकमा २ खर्ब ४८ अर्ब रुपैयाँ राख्नुपर्ने भएको छ ।
बैंक, वित्तीय संस्थामा अधिक तरलता कायम भएपछि त्यसको व्यवस्थापनका लागि यस्तो व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । ‘लामो समयदेखि वित्तीय प्रणालीमा अधिक तरलता देखिँदै आएको छ,’ उनले भने, ‘त्यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकमा राख्नुपर्ने नगद मौज्दात बढाइएको हो ।’
- विनाब्याज केन्द्रीय बैंकमा राख्नुपर्ने रकमको आकार बढ्दा बैंकहरूको आम्दानी घट्ने तथा बजारमा तरलता कम भई ब्याजदर बढ्न सक्ने बैंकरको दाबी ।
यसबाट बजारमा देखिएको अधिक तरलता केही हदसम्म व्यवस्थापन हुने उनले दाबी गरे ।
बैंक, वित्तीय संस्थाहरूले सीआरआरबापतको रकम विनाब्याज केन्द्रीय बैंकमा राख्नुपर्छ । वित्तीय प्रणालीको तरलता विनाब्याज केन्द्रीय बैंकमा होल्ड गर्न यस्तो व्यवस्था गरिएको र यसले बैंकहरूको आम्दानी घट्ने र ब्याजदर बढ्ने एक बैंकरले दाबी गरे । ‘स्थायी निक्षेप र निक्षेप संकलन उपकरणमार्फत अधिक तरलता व्यवस्थापन गर्दा खर्च बढेपछि राष्ट्र बैंकले दैनिक अनिवार्य नगद मौज्दात सीमा बढाएको छ,’ ती बैंकरले भने, ‘यसले बैंकहरूको आम्दानी घट्नेछ र बजारमा तरलता कम भई ब्याजदर बढ्न सक्छ ।’
राष्ट्र बैंकले हाल स्थायी निक्षेप र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता उठाउँदै आएको छ । चालू आर्थिक वर्षमा मात्र स्थायी निक्षेप सुविधाअन्तर्गत १७७ खर्ब ६८ अर्ब ८५ करोड रुपैयाँ तरलता उठाएको छ । यसैगरी निक्षेप संकलन उपकरणमार्फत पनि २६ खर्ब ४९ अर्ब २५ करोड रुपैयाँ उठाएको छ ।
बुधवार पनि राष्ट्र बैंकले ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणका लागि आह्वान गरेकोमा बैंकहरूले १ खर्ब ३३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप राख्न बोलकबोल गरेका थिए ।
यसैगरी राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिमभार पनि घटाएर १०० प्रतिशत कायम गरेको छ । बुधवार जारी निर्देशनमा पूँजीकोष गणना गर्दा शेयर धितोमा प्रवाह भएको कर्जामा जोखिमभार शतप्रतिशत बनाएको हो ।
हाल ५० लाख रुपैयाँभन्दा बढी कर्जाको हकमा १२५ प्रतिशत जोखिमभार भए पनि त्यसभन्दा कमको कर्जामा १०० प्रतिशत नै थियो । अब भने सबै कर्जाको जोखिमभार १०० प्रतिशत कायम भएको छ ।