काठमाडौं । सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्बभन्दा माथि पुगेको छ ।
बिहीवार (आज) संसद्मा सार्वजनिक संस्थानको वार्षिक स्थिति पेस गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४५ ओटा सार्वजनिक संस्थानको सम्पत्ति रु. २९ खर्ब १० अर्ब पुगेको बताए । उनका अनुसार ४५ ओटा सार्वजनिक संस्थानमध्ये २० ओटा पूर्ण सरकारी स्वामित्वका हुन् भने २५ ओटामा सरकारको स्वामित्व बढी छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति त्यसअघिको आर्थिक वर्षभन्दा २.२० प्रतिशतले वृद्धि भई रु. २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई रु. ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ । जसमा शेयर लगानी रु. ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु. ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय रु. ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत छ ।
सञ्चालनमा रहेका २८ ओटा संस्थान नाफामा छन् भने १५ ओटा घाटामा छन् । सरकारले प्रस्तुत गरेको संस्थानसम्बन्धी प्रतिवेदन अनुसार २ ओटा बन्द अवस्थामा रहेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रु. ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रु. ३ अर्ब ६३ करोड रहेको छ । नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।
त्यस्तै, सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा रु. १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा रु. ८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ । कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ ।