काठमाडौं । एनएमबि बैंक लिमिटेडले ५२ हजार १७२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले व्यक्तिगत संस्थापकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताले चैत २२ गतेसम्म आवेदन दिनुपर्नेछ ।
आवेदन विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा पेस गर्नुपर्नेछ । प्रतिकित्ता १२० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २३ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम पनि तय भएको छ ।