काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । जेठ २५ गते अपरान्ह ३ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ९१ लाख २५ हजार ८७६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यस कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । कम्पनीले यसका लागि ४२ प्रतिशत हकप्रद शेयर समेत निष्कासन गर्न लागेको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिन बुक क्लोज गरेको छ भने निष्कासन मिति तय हुन बाँकी छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न वैशाख २६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर कम्पनीले जारी गर्नेछ । हकप्रद र बोनस शेयरपछि कम्पनीको तोके बमोजिमको चुक्तापूँजी कायम हुनेछ ।