काठमाडौं । सान्भी इनर्जी लिमिटेडले थप सर्वसाधारणमा जारी गरेको आईपीओ जेठ २६ गते सोमवार दिउँसो बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा जेठ ९ गतेदेखि १३ गतेसम्म २४ लाख १५ हजार ३०० कित्ता आईपीओ जारी गरेको थियो । तोकिएको अवधिभित्र मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट २ लाख ४१ हजार ५३० जना आवेदकहरुमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल २० लाख ४३ हजार २४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता खरीद माग गर्दै आवेदन दिएका थिए । कुल आवेदकहरुमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ । कम्पनीको आईपीओ आवेदन दिएकामध्ये १८ लाखभन्दा बढीको हात खाली भएको छ ।
यस कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशतले हुने ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको थियो । यसअघि सर्वसाधारणतर्फको शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार २०० कित्ता आईपीओ यसअघि नै बाँडफाँट गरिसकेको छ ।
यस कम्पनीले इलाम जिल्लामा ७ दशमलव ६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको छ भने ५ दशमलव २ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । यस योजनाको ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ ।
अधिकृत पूँजी ८८ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८८ करोड रुपैयाँ नै रहेको छ । संस्थापक शेयरधनीहरुबाट चुक्ता भएको पूँजी ५० करोड १० लाख रुपैयाँ छ । सर्वसाधारणतर्फको सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँ कायम भएको छ । कुल पूँजीमा संस्थापकतर्फ ५६ दशमलव ९३ प्रतिशत, आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारीसमेत बाँकी सर्वसाधारणमा ३३ दशमलव शून्य ७ प्रतिशत स्वामित्व कायम हुनेछ । कम्पनीले आईपीओबाट संकलित पूँजी आयोजना निर्माण तथा कम्पनीले तय गरेका उद्देश्य प्राप्तिको लागि उपयोग गरिने जानकारी दिएको छ ।