काठमाडौं । घाम पावरले सन् २०२५ को किलिङ कर्भ पुरस्कार जितेको छ । जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्ने उल्लेखनिय प्रविधिहरूलाई महत्त्व दिने प्रतिष्ठित अन्तरराष्ट्रिय पुरस्कार किलिङ कर्भ पुरस्कारका विश्वभरका १० विजेतामध्ये घाम पावर पनि एक हो ।
ग्रामीण समुदाय र उद्योगहरूलाई सशक्त बनाउने स्वच्छ र वितरित सौर्य ऊर्जामार्फत नेपालभर जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्नमा घाम पावरको निरन्तर प्रयासलाई यो पुरस्कारले सराहना गरेको छ ।
पुरस्कार विजेताहरूको घोषणा केन्याको राजधानी नैरोबीमा भएको टेड (TED) काउन्टडाउन शिखर सम्मेलनमा गरिएको थियो । नैरोबीमा जलवायु परिवर्तनविरुद्धको लडाईमा आफ्ना विशेष धारणाहरू साझा गर्न विश्वभरका नेताहरू र नवप्रवर्तकहरू भेला भएका थिए।
घाम पावरलाई पुरस्कारको ऊर्जा विधामा छनोट गरिएको थियो । नेपालमा विद्युत्को पहुँच नपुगेका क्षेत्रहरूलाई भरपर्दो, किफायती बिजुली उपलब्ध गराउन, कार्बन उत्सर्जन घटाउन र डिजेल जस्ता प्रदूषित इन्धन स्रोतहरू प्रतिस्थापन गर्न सघाउने सौर्य-ऊर्जाका प्रयासहरूलाई मापन गर्न पुरस्कारस्वरुप ५० हजार अमेरिकी डलर प्रदान गरिएको थियो ।
विश्वभरका २५ सयभन्दा बढी आवेदकहरूमध्येबाट छनोटमा परेको घाम पावरले सौर्य ऊर्जाको आफ्नो नयाँ मोडेल प्रस्तुत गरेको थियो । जुन मोडेलले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरूसँग संयोजन गरेर स्वच्छ ऊर्जालाई आवश्यक गाउँबस्तीसम्म उपलब्ध गराउन मद्दत गर्छ । घाम पावरले अहिलेसम्म ४ हजारभन्दा बढी परियोजनाहरू सम्पन्न गरिसकेको छ ।
घाम पावरले पाएको यो अन्तरराष्ट्रिय पुरस्कारले नेपालको स्वच्छ ऊर्जा यात्रामा एउटा कोसेढुङ्गा थपिएको छ । सँगसँगै यसले जलवायु परिवर्तन र यसका दिगो समाधानहरूमा घाम पावर निर्वाह गरेको भूमिकालाई पनि प्रष्ट पारेको छ ।