काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालयले हाल इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित गरिरहेको बताएकी छन् ।
विनियोजन विधेयक २०८२/८३ अन्तर्गत उठेका प्रश्नहरूको प्रतिनिधिसभाको सोमवारको बैठकमा जवाफ दिँदै मन्त्री डा. राणाले उक्त जानकारी दिएकी हुन् ।
मन्त्री डा. राणाले भनिन्, 'हाल इजरायल र इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावहरूलाई अत्यन्त गम्भीरताका साथ लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ ।'
उनले ती दुई देशबीचमा युद्ध शुरु भएको दिनदेखि नै विकसित परिस्थितिलाई नजिकबाट हेरिरहेको, इरानमा रहेका सानो संख्याका नेपालीहरूलाई भारत सरकारसँग अनुरोध गरी इरानस्थित भारतीय दूतावासको सहयोगमा उद्धारको व्यवस्था मिलाइएको तथा इजरायलमा रहेका नेपालीहरूको वास्तविक सूचना अनलाइन पोर्टलमार्फत् सङ्कलन भइरहेको र घर फर्कन चाहनेहरूका लागि फर्काउने तयारी भइरहेको जानकारी दिए ।
मन्त्री डा. राणाले भने, 'उहाँहरूले अनलाइन पोर्टलमा रजिस्ट्रेसन गरिरहनुभएको छ । यसबाट को कहाँ र कति संख्यामा हुनुहुन्छ भन्ने सूचना आउनेछ । अप्ठेरो अवस्थामा रहेका र घर फर्कन चाहने केहीले मात्र फर्कने इच्छा व्यक्त गरिरहनुभएको छ । उहाँहरूको उद्धारका लागि हामीले गृहकार्य शुरु गरेका छौं ।'
मन्त्री डा. राणाले इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लगाइ उनको रिहाइका सम्बन्धमा नेपाल सरकारले सक्दो कूटनीतिक पहल गरेको र अहिलेसम्म उनको अवस्था पत्ता लाग्न नसकेको जानकारी गराइन् ।
मन्त्री डा. राणाले उक्त विनियोजन विधेयकमा परराष्ट्र मन्त्रालका विषयमा उठेका नेपालको भूभाग तथा सीमा, आर्थिक कूटनीतिको प्रवर्द्धन र यसको महत्त्व, गैरआवासीय नेपालीहरू, मन्त्रालय र अन्तर्गत क्षमता अभिवृद्धि, व्यवस्थापन र मूल्यांकन, राजदूत एवं नियोग प्रमुखको नियुक्ति, कन्सुलर सेवाको अवस्था, परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध एवं राष्ट्रिय सुरक्षा लगायतका विषयमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिएकी थिइन् ।