चितवन । चितवनमा कुखुरामा देखापर्ने रोगसम्बन्धी विषयमा विज्ञ तथा प्राविधिकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कुखुरा व्यवसायी मञ्च र राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला चितवनको संयुक्त आयोजनामा चितवन तथा यससँग सीमा जोडिएका नवलपरासी (बर्दघाट सुस्तापूर्व) र मकवानपुरलाई समेटेर एकदिवसीय अन्तरक्रिया गरिएको हो ।
‘वर्तमान अवस्था : समस्या, चुनौती र समाधानका उपायहरू’ विषयक उक्त कार्यक्रममा पक्षीरोगसम्बन्धी अनुसन्धान र पोल्ट्री क्षेत्रमा देखापर्ने रोगहरूको अवस्था, रोकथाम तथा नियन्त्रणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालाका प्रमुख तथा वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठले स्वागत मन्तव्यसहित प्रयोगशालाबाट सञ्चालित गतिविधिहरू, पोल्ट्री क्षेत्रमा देखापर्ने रोगहरू तथा प्रयोगशालालाई थप व्यवस्थित बनाउन आवश्यक उपायहरूबारे कार्यपत्र प्रस्तुत गरे ।
त्यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. अनन्त दाहालले पोल्ट्री व्यवसायमा हालसम्म देखिएका रोगहरू, रोकथामका लागि गरिएका प्रयासहरू तथा आगामी रणनीतिबारे जानकारी दिएका थिए ।
नेपाल कुखुरा व्यवसायी मञ्चका सचिव डा. विष्णुहरि शर्माले पोल्ट्री क्षेत्रमा सरकारको भूमिका, नीति निर्माण, समस्या र समाधानका उपायबारे कार्यपत्र प्रस्तुत गर्दै उक्त कार्यपत्र पशुसेवा विभागका महानिर्देशकसमक्ष हस्तान्तरण गरेका थिए ।
कार्यपत्रहरू प्रस्तुत भएपछि केन्द्रीय प्रयोगशालाका वरिष्ठ पशुचिकित्सक डा. अर्जुन अर्याल, नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष डा. निमेष खनाल, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील के.सी, तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. जीवन अधिकारीलगायतले पोल्ट्री क्षेत्रको समग्र विकासका लागि अपनाउनुपर्ने रणनीतिबारे धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पशुसेवा विभागका महानिर्देशक डा. रामनन्द तिवारीले पोल्ट्री क्षेत्रसँग सम्बन्धित समस्या समाधानमा सरकार तयार रहेको र आवश्यक परेमा निजीक्षेत्रसँग सहकार्य गरी नीति तथा नियममा सुधार गरिने बताए । साथै, रोगको रोकथाम, नियन्त्रण तथा प्रवद्र्धनका लागि सरकार, निजीक्षेत्र, अनुसन्धान संस्था, पशुचिकित्सकहरू र विश्वविद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
कार्यक्रम नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्वमा सम्पन्न भएको थियो ।