विराटनगर । भारतको गोवामा फ्लोर मिल सञ्चालकहरू तथा सम्बन्धित विज्ञहरूको दुईदिने सम्मेलन सम्पन्न भएको छ । नेपालबाट १६ जना उद्योगी सहभागी भएको उक्त सम्मेलन फेडेरेशन अफ रोलर्स फ्लोर मिल इण्डियाको आयोजनामा भएको थियो । सम्मेलनमा आगामी दिनमा मैदा मिलको सञ्चालन लागत घटाएर कसरी दिगो बनाउने भन्ने विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । यसका लागि आधुनिक प्रविधि र सुरक्षित भण्डारणका लागि सामूहिक प्रतिबद्धता गरिएको नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमुद दुगडले जानकारी दिए ।
औद्योगिक मेसिनरीको नयाँ प्रविधि, भण्डारणका लागि आधुनिक प्रविधि लगायत विषयमा सम्मेलनबाट जानकारी प्राप्त भएको समेत उनले बताए । नेपाल र भारतका सबै मिल सन् २०३० सम्ममा आधुनिक प्रविधिमार्फत सञ्चालनमा आउने विश्वास उनले व्यक्त गरे ।
नेपालमा हाल ४६ ओटा ठूला फ्लोर मिल सञ्चालनमा छन् । एशोसिएसनका अनुसार उक्त संख्याका मिललाई वार्षिक ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ, जसमध्ये ६ लाख मेट्रिक टन आन्तरिक रूपमा आपूर्ति हुने र अपुग ३ लाख मेट्रिक टन गहुँ भारत तथा अन्य मुलुकबाट आयात हुँदै आएको छ ।
भारतीय प्राविधिकसँगको सहकार्यमा कृषि मन्त्रालयको अनुमतिमा नेपालमा कति क्षेत्रफलमा गहुँबाली लगाइन्छ भन्ने विषयमा ड्रोन म्यापिङ गर्ने, सुरक्षित भण्डारण गर्ने नयाँ प्रविधि नेपाल भित्त्याउने तथा खाद्यान्न प्रशोधनको व्यवस्थाबारे प्रधानमन्त्री लगायत मन्त्रीहरूलाई विज्ञमार्फत जानकारी गराउने कार्यक्रम तय गरिएको अध्यक्ष दुगडले बताए ।
एशोसिएशनका उपाध्यक्ष विकास बेगवानीका अनुसार सम्मेलन फ्लोर मिल उद्योगीहरूका लागि फलदायी भएको छ । यस्ता मिललाई नयाँ प्रविधिमा रूपान्तरण गर्दा १० प्रतिशत खर्च कटौती गर्न सकिने, अत्याधुनिक प्रविधि अपनाउँदा ९ महीनासम्म गहुँ सुरक्षित भण्डारण गर्न सकिने जानकारी सम्मेलनबाट पाएको उनले बताए । आधुनिक प्रविधि प्रयोग गर्दा जनशक्ति घट्ने भएकाले अहिलेको तुलनामा समग्रमा २५ प्रतिशतसम्म खर्च घट्न सक्ने अनुमान गरिएको छ ।
‘उत्पादन लागत घट्दा उपभोक्ता र उद्योगी दुवैलाई फाइदा पुग्नेछ,’ उनले भने । फ्लोर मिलका प्राविधिक उत्पादनका लागि लखनउमा प्राविधिक तालीम केन्द्र सञ्चालनमा ल्याइने, भारत सरकारले कफी र चिया बोर्ड गठन गरेझैं गहुँ बोर्ड समेत गठन गर्ने तथा नेपालका उद्योगी, व्यवसायी र प्राविधिकलाई नियमित रूपमा तालीमको अवसर प्रदान गरिने घोषणा समेत गरिएको जानकारी बेगवानीले दिए ।