बिहान बिहानै गृहमन्त्रीजी एअरपोर्टतिर हिँडिरहेका थिए, अचानक भिजिट भिसामा परेर चिप्लिएर लडेछन् । मन्त्री लड्दा देशको इज्जत चिप्लन्छ कि उनीहरूको पद कि राजनीति, अहिलेसम्म पत्तो छैन । त्यसो त मन्त्रीहरू बेलाबेलामा लडिरहन्छन्, कहिले जिब्रो चिप्लिएर त कहिले खुट्टा । कहिले स्टेटमेन्टमा त कहिले कमिटमेन्टमा । कहिले अट्याचमेन्टमा त कहिले पेमेन्टमा । अझ कहिले मनमा त कहिले धनमा । यी मन्त्रीजी पहिलोचोटि लडेका चैं होइनन् । उनी पनि अरू मन्त्रीहरूजस्तै जतिबेला मौका पाउँछन्, लडिहाल्छन् । राजनीति भन्ने कुरा नै त्यस्तो हो– यहाँ मज्जाले लड्ने चलन हुन्छ । कोही लड्न चाहेन भने पनि लडाउन तम्सिनेहरू थुप्रै हुन्छन् । जो जतिजति लड्छन्, उनीहरू फेरि उठ्छन् पनि ।
पहिलो ६ महीनासम्म कोही लडेन भने मन्त्रालयमै खुसुरफुसुर शुरू हुन्छ । कर्मचारीहरू शंका उपशंका गर्न थाल्छन्– हाम्रो बीचमा कहीँ भोलाराम ठाकुर नाई पो मन्त्री बनेर आएछन् कि क्या हो भनेर ।
- तपाईंहरू यो बुझ्नुस् कि मन्त्रालयहरूमा लड्नु वा चिप्लनु कति आदरयोग्य कुरा हो । अस्तिभर्खर पनि कम्युनिष्ट आन्दोलनका महानायक (कसैकसैले खलनायक पनि भन्छन्) कता हो भव्य रिसोर्टमै पुगेर चिप्लिएर लडेछन् । यसलाई कसैले सांकेतिक रूपमा नेपाली कम्युनिष्ट आन्दोलन नै लडेको रूपमा पनि व्याख्या गर्ने गरेका छन् । तर मैले यसलाई विशुद्ध रूपमा सम्मानजनक जनतान्त्रिक चिप्लाइको रूपमा मात्र बुझेको छु ।
त्यसो त मन्त्रालयहरू अति मिलनसार याने कोअपरेटिभ छन् । जब मन्त्रालयमा मन्त्रीजी नयाँ–नयाँ आउँछन् र लड्ने अथवा भनौं तल झर्ने कुरामा उनीहरू निकै लाज मान्छन्, तब उनीहरूको इमानदारीको बर्दी उतार्न विशेष पूजापाठ नै आयोजना शुरू हुन्छ । विधि विधानसहित, सम्पूर्ण सावधानीका साथ पहिलोचोटि राम्ररी लडाउन थालिन्छ । त्यसपछि त के भन्नु, ‘कहिल्यै पछाडि फर्केर हेर्नु पर्दैन’ । मन्त्रीजीहरू आफै चिप्लि–चिप्लिकन लड्न थाल्छन् ।
पछिल्लो चरणमा त यस्तो अभ्यास हुँदै गएको छ कि मन्त्रीजीहरू कार्यालय ढिलो पुग्ने, तर गिर्ने कर्म पहिल्यै सकाएर आउने गर्न थालेका छन् । अलि धेरै नै गिर्नुपर्ने काम आइलाग्यो भने विदेशसम्मै पुगेर पनि राम्रैसित गिरेर आउनुपर्ने हुन्छ, उपचारको या कुनै कामको बहानामा ।
यो सबै कुरा तपाईंहरूलाई भन्नुको कारण यो हो कि तपाईंहरू यो बुझ्नुस् कि मन्त्रालयहरूमा लड्नु वा चिप्लनु कति आदरयोग्य कुरा हो । अस्तिभर्खर पनि कम्युनिष्ट आन्दोलनका महानायक (कसैकसैले खलनायक पनि भन्छन्) कता हो भव्य रिसोर्टमै पुगेर चिप्लिएर लडेछन् । यसलाई कसैले सांकेतिक रूपमा नेपाली कम्युनिष्ट आन्दोलन नै लडेको रूपमा पनि व्याख्या गर्ने गरेका छन् । तर मैले यसलाई विशुद्ध रूपमा सम्मानजनक जनतान्त्रिक चिप्लाइको रूपमा मात्र बुझेको छु ।
चिप्लाइ पनि मात्रा र असरका आधारमा लोकतान्त्रिक, गणतान्त्रिक, राजतन्त्रात्मक र स्वतन्त्र गरी फरक फरक हुन्छन् ।
यहाँ गज्जबको संयोग यो छ कि २०४६ सालयता सरकारमा त्यो पनि नेपाली कांग्रेसबाट मात्रै पनि ११ जना नेता त गृहमन्त्री बनेका रहेछन् । ११ जना गृहमन्त्रीमध्ये ६ जना त कुनै न कुनै कुरामा चिप्लिएर विभिन्न आरोपमा हिरासतमै बस्नुपरेको रहेछ । आरोप पुष्टि भएर तीनजना त कारागारमा चिप्लिन पुगेका छन् । कांग्रेस पार्टीको नाम चिप्ल्याएको भनेर उनीहरूको आलोचना पनि हुने गरेको छ । तर अहिले त्यसमध्ये कत्तिले त नेतागिरीबाटै संन्यास पनि लिइसके । अर्को संयोग पनि यो छ कि अरूभन्दा गृहमन्त्री बनेकाहरू प्रायः चिप्लने गर्दा रहेछन् । यसको कुनै गम्भीर कारण पनि हुन सक्छ ।
खैर, म यसो सोच्ने गर्छु यसरी लड्ने लडाउने कुरामा अभ्यस्त भैसकेका उनीहरूलाई विना चिप्लिएर वा नलडेर एक दिन काट्न पनि कत्ति गाह्रो हुँदो हो । एक प्रकारको ठूलै व्रत बसे जस्तो हुन्छ होला हगि ?
तर अहिलेका गृहमन्त्रीजी भने एअरपोर्टतिर टहल्दा टहल्दै ठेस लाग्यो अनि भाग्यले मुहार भुइँतर्फ परेर ढलेछन् । गिरावटको गुरुत्वाकर्षण सिद्धान्तले काम गर्यो होला । मुहार सीधै आकाशतर्फ परेको भए उनलाई पक्कै गाह्रो हुन्थ्यो । किनकि उनलाई सजिलै चिनेर पत्रकारले चिप्लाइको उद्गम ठ्याक्कै देखेर पूरै फेसबुक लाइभ गर्थे होलान् । रिखीजीले माइक मुखमै लगाएर ‘गिर्दै गर्दा के सोच्नुभएको थियो ?’ भनेर सोध्थे होलान् ।
भाग्यवश, गृहमन्त्रीजीका पछाडि पछाडि आईजीपी आउँदै रहेछन् । उनले दौडिएर सहयोगको लागि हात बढाएछन् । तर यस पटकको गृहमन्त्रीजीको गिराइको खास पीडा के थियो भने लडेपछि आईजीपी साबले जब मन्त्रीको हात खाली देखे, उनी अक्क न बक्क भएछन् । उनलाई ठूलै झट्का लागेजस्तो भएछ । जुन मान्छे लडदाखेरि सधैं रमाउँथे, आज यति दुःखी भए कि भनिसाध्यै छैन ।
खैर, यो लड्ने गिर्नेको बीचमा एउटा सानो स्पष्टीकरण दिन बाँकी रह्यो– हाम्रा गृहमन्त्रीजी अरू नेताजस्ता मन्त्री चैं होइनन् है । उनी त सामान्य राजनीतिज्ञ लेखक पो हुन् । तर शुरूदेखि नै उनी ‘नेता’ भनेर चिनिए । विस्तारै विस्तारै मानिसहरूले चुनावी नारा झैं त्यो नाम पनि बिर्सिए र नयाँ नाम चलनमा आयो– मन्त्रीजी, जुन मन्त्रीजीलाई पनि बेस्कनै मन परेको थियो । उनको जवानी त राम्रै बित्दै थियो, तर बुढेसकालमा अलि के के नमिलेजस्तो भैराछ । हुन त सबैको आआफ्नै ट्रेजेडी हुन्छ । जिन्दगीमा तलमाथि त हुन्छ नै ।
मन्दीको हो कि मदिराको असरले मेरा जीवनमा पनि केही समयदेखि नयाँ नयाँ गिरावट अगाडि आइरहेका छन् । अहिले त मन्त्रीजीको जस्तै मेरै पनि जीवनमा पनि नयाँ नयाँ प्रकारको लडाइँ शुरू भएका छन् । एअरपोर्टमा लड्दा मन्त्रीजीको त एउटा मात्र दाँत झरेको थियो । आफ्नो त कपाल पनि झर्न थालेका छन् भन्या । साला कपाल शुरूमा त अलिअलि झर्न मात्र के शुरू भाथ्यो अहिले त डलरको अगाडि रुपैयाँ जत्तिकै झन् तल तल पो झर्दै गइराछ भन्या । प्रत्येक बिहान बजार खुल्नासाथ अर्थात् पहिलो काइँयोमै भयंकर गिरावट हुन थाल्छ । हुन त बजेट झर्छ, योजना झर्छ, कपाल झर्नु त सामान्य कुरा हो नि ।
गएको महीनामा मेरा पनि दुईटा दाँत झरेका थिए । अब बाँकीले पनि हामी पनि जान्छौं पो भन्न थालेका छन् बा । तर पनि मलाई भने बालै छैन । म यस्सो विचार गर्छु, केही दिनयता मन्त्रीजीका मनमा गहिरो शास्त्रीय किसिमको उदासी छाएको देखिएको छ, कतै आफ्नै पालामा थुनिएका पूर्वगृहमन्त्रीकै साथमा भित्र सँगै बस्नुपर्ने पो हो कि भनेर । त्यसैले होला हिजोआज उनको अनुहार लाजवन्ती झारको पातजस्तो भएको छ । बोलेपछि झनै ओइलाउने ।
मान्छेहरू झुठा आश्वासन दिन्छन्, भन्छन् कि बुढेसकालमा पैसा काम लाग्छ । केमा चैं काम लाग्छ र खै ? यता आफ्नो अनुहारका छाला हेर्यो, कांग्रेस र एमालेको नेतृत्व जस्तै विस्तारै खुकुलो हुँदै गइरहेको छ, चाउरिँदै गएको छ । ऐनामा गएर हेर्यो भने अनुहार पञ्चर भएको टायरजस्तो देखिन्छ । तर ती मन्त्रीका बडी गार्डहरूलाई हेर्दा भने अचम्म लाग्छ, सधैं हावा भरिएजस्तो, फुल–टाइट । हैन, उनीहरू के खान्छन्, कसरी खान्छन् होला हँ ? कुनै दिन भेटेँ भने सोधौंला जस्तो लागिरहेको थियो ।
नभन्दै एकदिन मैले अचानक मन्त्रीजीलाई बाटैमा भेटेँ र नजिकको पार्कको बेञ्चमा राखेर सोधेँ, ‘मन्त्रीजी ठीक हुनुहुन्छ ? अस्ति एअरपोर्टमा ठूलो चोट त लागेन नि ?’
मन्त्रीजीले अलि रुन्चे स्वरमा भने, ‘नराम्रोसित लडियो नि ।’
‘धन्न हड्डी त भाँचिएनछ,’ मैले पिठ्युँमा हात राख्दै सान्त्वना दिएँ ।
‘दुईटा दाँतै झर्यो । ऊ त्याँ ढुंगाका छेउमा छन्,’ मन्त्रीजीले भने ।
मैले देखेँ, उता ढुंगा मुस्कुराइरहेको थियो । साक्षी भएर होइन, साथी भएर ।