न आरामले रिसोर्टमा बस्न पाइने, न ढुक्कले दरबारमा निदाउन पाइने । सधैं तनाव, सधैं काम ‘टार्नुपर्ने’ । हेलिकप्टर चढेर पहाड–पहाड, खोल्सा खोल्सा, सुक्खा क्षेत्रको ‘सुख’ र बाढी पहिराको दुःख महसुस गर्न पुग्नुपर्ने । कहिलेकाहीँ हेलिकप्टर नपुग्दा, ट्रेकिङ गरेर ठाडो टाकुरो चढ्नुपर्ने । त्यसको पनि फोटो खिच्न छुट्ला भन्ने समेत चिन्ता छुट्टै । कहिले कार्यकर्ता त कहिले प्रहरी जवानको बुई चढेर खोल्सो तर्नुपर्ने, हिलो छल्नुपर्ने । त्यसको चाहिँ कसैले फोटो खिचेर भाइरल बनाइदेला भन्ने अर्को चिन्ता ।
तलब, भत्ता, सवारी, सुरक्षा, सुविधा सबै यति धेरै कि सम्हाल्नै गाह्रो । यी सुविधा बोकेर हिँड्दा ढाड लच्किन्छ, कहिले जनताको नजरमा इज्जतै खस्किन्छ । फूलमाला र खादा त यति झुन्डिन्छ गर्दन नै थिचिनेगरी, मान्छे नै पुरिनेगरी ।
जनता कर तिर्दैनन्, तर कराउने जिम्मेवारी आफ्नै । राष्ट्रको आर्थिक अनुशासनका कुरा गर्दा ‘अन्य’लाई सम्झाउनुपर्ने, आफैले भने अनुदानलाई ‘पारिश्रमिक’ ठान्नुपर्ने । कहिलेकाहीँ त अरूको तलबसमेत आकस्मिक रूपमा आफ्नो गोजीमा ‘होल्ड’ गर्नुपर्ने, त्यो पनि ‘ग्लोबल प्राक्टिस’ भनेर बुझाउनुपर्ने । यस्तो ‘प्रोजेक्ट म्यानेजमेन्ट’ त झन् कति गाह्रो । तपाईं सर्वसाधारणलाई के थाहा ?
सरकारमा पसेपछि, कुर्सीमा बसेपछि काम गरेजस्तो पनि गर्नैपर्ने । मन्त्री बनेपछि एक-एक निर्णयमा जनताको आँखा हुन्छ भन्ने डर पाल्नुपर्ने, काम तमाम भएपछि फाइल कतै लगेर फाल्नुपर्ने । निर्णय गर्दा हात काँप्छ, तर बचीबची दस्तखत गर्नैपर्ने– सेवा भावले नभए पनि मेवा भावले । गभर्नरदेखि भिसीसम्म, रेक्टरदेखि डाइरेक्टरसम्म, एउटा सामान्य नियुक्तिमा समेत महीनौं पार्टीको र अझ गुटको हित सोच्दै महान् जनताको पक्षमा निर्णय लिनुपर्ने ।
पढ्नैपर्ने– बजेटदेखि संविधान, ठूल्ठूला नीतिदेखि ‘नीच’ परियोजनासम्म । जुन भेलामा पुग्यो, त्यहीँको विशेषज्ञजस्तो बोल्नुपर्नेे, नत्र फोटो खिचिँदैन । कहिले कृषिको छलफल– जहाँ मल छैन, त्यहाँ मलजलको नीति चाहिन्छ भनेर सपना छर्नुपर्ने । कहिले प्रविधिबारे सेमिनार– जहाँ नेटवर्क छैन, त्यहाँ ‘नेटवर्किङ’को कन्फरेन्स गर्नुपर्ने । जहाँ इन्टरनेट आउँदैन, त्यहाँ पनि ‘डिजिटल नेपाल’को व्याख्यान दिनुपर्ने । कहिले दार्शनिक बन्नैपर्ने, कहिले धार्मिक बनिदिनुपर्ने, कहिले साहित्यको व्याख्यान गरिदिनुपर्ने, त कहिले सन्तको पगरी गुथिदिनुपर्ने ।
बाहिर त्याग देखाउनुपर्ने, भित्रभित्रै ‘भाग’ मिलाउनुपर्ने । नेता भएकै कारण चन्दा उठाउनुपर्ने, दान जुटाउनुपर्ने । खानपान मिलाउनुपर्ने । आफ्नो योगदान नभए पनि अरूको योगदान ओझेलमा परे पनि श्रेय आफैले लिइदिनुपर्ने । सबै कुरा जानेजस्तो गर्दिनुपर्ने, सबैलाई मानेजस्तो गर्दिनुपर्ने । बिचौलियाहरू मिलाउनुपर्ने, बेलाबेलामा नयाँ नयाँ सुट र दौरा सुरुवाल एकैचोटी सिलाउनुपर्ने ।
देशप्रतिको माया– नियतभन्दा पनि नियम नै भएजस्तो देखाइदिनुुपर्ने । बोलीमा चिनी घोल्ने, व्यवहारमा खुर्सानी मोल्ने । आलोचना सहनुपर्ने, सधैं अलर्ट रहनुपर्ने ।
राज्यको स्रोत कहाँ गयो भनेर सदनै थर्किने गरी जवाफ दिनुपर्ने । भारी मनले पजेरो चढ्नुपर्ने, यति भारी कि कहीँ कहीँ त सडक नै धस्छ । निजी सपना हराएर सार्वजनिक सेवामा समर्पण गरेकोजस्तो देखाउनुपर्ने ।
आफ्नै घर हुँदा पनि सरकारको घर भाडा बुझ्नुपर्ने । किनभने सरकारी सुविधा नलिएसम्म जनताको पीडा बुझिन्न । आफ्नै श्रीमती, प्रेमिका, सम्धि, साहुजीलाई टिकट बाँड्नुपर्ने । किनभने राजनीति परिवारबाटै न शुरू हुन्छ– ‘लोकतन्त्र लोकबाट’ हुन्छ भन्ने आदर्श सावित गर्नुपर्छ ।
छोराछोरीका लागि छात्रवृत्ति माग्दै विदेशी दूतावास धाउनुपर्ने, देशका होनहारलाई विदेशको गुणस्तरीय शिक्षा दिलाउने ठूलो निस्वार्थ प्रयास गरेको भनेर सावित गर्नुपर्ने ।
भ्रष्टाचारको फाइलमा हस्ताक्षर गर्नुपर्ने, त्यो पनि ‘जनताको हकमा’ भनेर प्रेस विज्ञप्ति नोट लेख्नुपर्ने । संसद् सचिवालयमा प्रेसरको सट्टा सुत्केरीले खाने औषधि वा कुनै बेनामी खोपको बिल पेश गरेर ‘डोज अफ डेडिकेशन’ भनेर पचाउनुपर्ने । नेतालाई बिरामी हुने छूट छैन, हैन भने देश नै आइसियुमा जान्छ, हैन र ?
मेलम्ची, चिलिमे, माथिल्लो तामाकोशी जस्ता राष्ट्रिय गौरव भनिएका परियोजनाहरूमा झुल्किन नभ्याए पनि त्यसका गाडीहरू चढ्दिनुपर्ने, नत्र जनतामा नेताहरूले आयोजना नै ल्याएनन्, कामै गरेनन् भन्ने भ्रम पर्न सक्छ ।
समय र सुविधाको व्यवस्थापन गर्नैपर्ने अफिस, आफन्त, अफसेट प्रिन्टिङ सबै मिलाउनुपर्ने । त्यसका लागि बाध्य भएर सेतो नम्बर प्लेटलाई परिवारका लागि रातोमा ‘फ्युजन’ गर्नुपर्ने । किनभने जनप्रतिनिधिको सवारीमा आफन्तको उपस्थिति जनताको प्रतिनिधित्व झल्काउने कुरा पनि हो ।
विदेश भ्रमणमा डलर डाइजेष्ट गरेर फर्किनुपर्ने । सचिव गए हुने कार्यक्रममा पनि आफै गइदिनुपर्नेे, नत्र फेरि नेताहरूले विदेशी सम्बन्ध विस्तार गर्न सकेनन् भन्ने कुरा आउँछ । योजना बने पनि नबने पनि रिबन काट्न दौडनुपर्यो, नत्र समय कसरी कटाउने ?
सामाजिक सञ्जालमा सपना बाँड्नुपर्ने, ट्विटरमा टंकार दिनुपर्ने, फेसबुकमा फोटो हाल्नुपर्ने, अनि युट्युबमा नबोल्नुपर्ने कुरा बोल्नुपर्ने, बोल्नुपर्ने कुरा नबोल्नुपर्ने । अर्थात् दिमागभन्दा जिब्रो बढी चलाउनुपर्ने । किनभने बोली चलाउने काम लोकतन्त्र हो, बुद्धि चलाउने जिम्मा त प्राविधिक सरकारको हो ।
ठेकेदारसँग जग्गा बार्गेन गर्नुपर्ने, नागरिकता टेबलमुनि ‘प्याक’ गरेर विक्रीमा राख्नुपर्ने । एउटै आयोजनाको पाँच शिलान्यास गर्नुपर्ने । किनभने फोटो बदलियो भने ‘प्रगति’ देखिन्छ । यो नै विकासको ‘डिजिटल ट्र्याकिङ सिस्टम’ हो । समावेशी विकासको मोडेल हो ।
नेता हुनु भनेको सतहमा उज्यालो देखाएर गहिराइमा अँध्यारो व्यवस्थापन गर्नु हो । देश जलिरहँदा माइक समाएर ‘सबै ठीक छ’ भन्न सक्ने मानसिक बल चाहिन्छ । यो नै त ‘रियल टाइम क्राइसिस म्यानेजमेन्ट’ हो ! अनि कहिलेकाहीँ संसद्मै सुत्नुपर्ने, ‘पोलिटिकल पावर नेप’ले स्फूर्ति दिन्छ, हैन भने जोश आउँदैन भाषणमा ।
विद्यालय विद्यालयले होइन, कुर्सीले सिकाउने यस्तो जटिल जीवनशैलीमा नेताहरू बाँचिरहेका छन् । त्यसैले त भन्छु साथीहरू– नेताहरूमा दोष नदेखौं, बरु ‘यसरी पनि मानिस बाँच्न सक्छ’ भनेर उनीहरूको जीवनलाई पोलिटिकल एड्भेन्चर मानेर सलाम गरौं ।
किनभने, हेर्नुस त देखिहाल्नुभो नेताको जीवन कम्ता सारो छ ? नेता हुन त साह्रै गाह्रो पो छ ।