देश त हाम्रा शासकहरूले युगौंदेखि बनाइरहेकै छन् त । जो आयो, उसैले केही न केही निर्माण गरेरै गयो । देश त कहिले खनेर, कहिले भत्काएर, कहिले सपना देखाएर निर्माण हुँदैछ ।
एउटा शासकले भन्यो, एसियाली मापदण्डमा पुर्याउँछु ।
त्यसपछि अर्को आयो, ‘५ वर्षमा सिंगापुर बनाउँछु ।’
अझ अर्को क्रान्तिकारी आयो, ‘म स्वीट्जरल्यान्ड बनाउँछु ।
त्यसपछिकाले भने, ‘१० वर्षमा स्वर्ग बनाउँछु ।’
कोही त देख्न नपर्ने सपना देखाएरै इतिहासमा अमर बने ।
पहिला शाह राजाहरू आए र भने, ‘म बनाउँछु देश ।’ अनि दरबारहरू बने । किल्लाहरू उठे । र, प्रजाहरू पनि बनाइए– कर तिर्ने, टाउको निहुराउने, प्रश्न नगर्ने उत्कृष्ट प्राणीको रूपमा ।
त्यसपछि राणाहरू आए । देश निर्माणलाई अझ फराकिलो बनाए । सारा देश आफन्तहरूमा बाँडफाँट गरेर । राष्ट्र निर्माणलाई नयाँ उचाइमा पुर्याए । नयाँ महलहरू बनाए । नयाँ बगैंचाहरू सजाए । देशभित्र नबनेका सडकहरूका खबर पनि डक्टर र इन्जिनियर बन्न विदेशिएका नेपालीहरूसम्म पुर्याइदिए । देशको धन देशमा नअटेर विदेशसम्म पुर्याए ।
राणासँगै कांग्रेस मिसियो । राजा पनि मिसिए । कचिंगल गरे । अनि चुनाव गरेर कांग्रेस आयो । केके न गर्ला जस्तो हुँदैथियो, मिलिक्कैमा राजाले हटाइदिए । राजाले राज्य र जनता दुबैलाई ‘सुनौलो सपना’ देखाउने नयाँ भर्सन शुरू गरे । अनि दरबारको रंग मात्र फेरेनन्, पुरानो संविधान भंग गरेर सबै कुरालाई दरबारको अंग बनाउन थाले । अनि कांग्रेस र कम्युनिष्ट भूमिगत ।
अनि बहुदल आयो । कांग्रेस आयो । एमाले आयो । अरू कम्युनिस्टहरू आए । उनीहरूले त जनतालाई बनाइदिए– झगडालु, चुनाव प्रेमी र स्वतन्त्र रूपमा लाइन बस्ने, धक्का खान सक्ने, झण्डा, डण्डा र नारा बोक्न सक्ने प्राणी । कत्रो ठूलो योगदान ! देश निर्माण अझ व्यवस्थित भयो । गाउँगाउँमा पार्टी समिति बने । चोकचोकमा गुट बने । पुरानै दरबारमा रंग पोते । र, देश निर्माणको अभियान अझ जीवन्त बन्यो ।
‘सपना देख, सपनाको झण्डा उठाऊ र सपना बेच’ भन्ने नयाँ कार्यदिशा आयो । कसैले हिजोको सपना जलाएर आज अर्को सपना देखाउने अभियान चलायो । जबज आयो, गुट आए, फुट आए, अनि देश बन्ने कहानी जबर्जस्त छायो । सपना देखाउने कारखाना भने कहिल्यै बन्द भएन ।
त्यहीबीच माओवादी कामरेडहरू आए । पुुरानो सबै ध्वस्त नगरी राष्ट्र निर्माण हुँदैन भन्ने नयाँ नारा ल्याए । गाउँका पाटी र चौतारा भत्काए । त्यही भत्काइएका चौतारामाथि बसेर भविष्यका महल बनाउने गहन योजना सुनाए । अनि सम्झे– ‘ए, चौताराबाट त शितलता र शान्ति बन्थ्यो होला’, अनि फेरि नयाँ चौतारा बनाउने योजना सुझाए । निर्माण–अवशेष–निर्माणको यस्तो सुन्दर चक्र त संसारमा बिरलै पाइन्छ ।
त्यसपछि नयाँ पुस्ताले बगैंचामा विवेकको बिरुवा रोपे । नयाँ पार्टीहरू आए– विवेकशील अनि साझा । फरक सोच र स्वच्छ राजनीति गर्ने दाबीका साथ । तर देश बनाउने काम भने फेसबुकको रियाक्सन र शेयरमा सीमित रह्यो । फेसबुके पोष्टहरू बनाइए, सपनाहरू ‘सेभ’ गरिए । देश चाहिँ ड्राफ्टमा राखेर पछि ‘अपलोड’ गर्ने योजना बनाइयो ।
अहिले फेरि अर्को एउटा नयाँ शक्ति भनेर नयाँ हुल बाँधेर आएको छ रास्वपा । उत्साह छ, जोश छ, सपना त झन् हावाभन्दा हलुका । अनि यसका प्रमुख नेताका नाकको डाँडी भाँच्ने भन्दै हनुमान् झैं टुँडिखेलमा अवतरित भए । तर आउनासाथ जेलभित्र पसेर आफ्नै नाक जोगाउन लडिरहेछन् । देश बनाउने कार्यक्रम जेलभित्रबाटै सञ्चालन भइरहेको छ । कुन ती नायकहरू जहाँ बसे पनि राष्ट्र निर्माण गरिरहन्छन् ।
यसरी राजा आए र गए । राणा जागे अनि भागे । कांग्रेस लड्यो । एमाले फुट्यो । माओवादी घुस्रियो । वैकल्पिक भंग भयो । स्वतन्त्र थुनियो । राजावादी फेरि मुख बाउन थाले । देशमा नयाँ युग आयो । तर यो नसोध्नुस् कि जनताले चैं के पायो ?
काठमाडौं लगायत देशभरिका शहरहरू स्मार्टसिटी बन्दै छन् । हाम्रा सपना त स्मार्ट छँदै छन् । यसरी हाम्रा हरेक शासकले राष्ट्र निर्माणमा आ–आफ्नै ढंगले योगदान दिएका छन् । कोही नक्सा कोर्छन्, कोही पुलको डिजाइन बनाउँछन्, कोही सपनाको टावर बनाउँछन् । विचरा सडकहरू चाहिँ ट्राफिकमा रमाउँदै, खाल्डोमा नुहाउँदै आफ्नो भाग्यमा पौडी खेलिरहेका छन् । यसरी ‘खाल्डाहरूले पनि देशको प्राकृतिक सौन्दर्य बढाउँछ’ भन्ने नयाँ सिद्धान्त विकसित भइसकेको छ । राष्ट्र निर्माणको यस्तो नवीनतम व्याख्या कहाँ पाइन्छ र !
त्यसैले जब चुनाव आउँछ, जब नेताहरू भाषण गर्छन्, जब योजनाका चम्किला पोस्टरहरू टाँसिन्छन्, हामीले बुझ्नुपर्छ– देश निर्माण निरन्तर जारी छ ।
देश बनाउन नेताहरूले विदेश भ्रमण गरिरहेकै छन् । देश बनाउन मन्त्रीहरू अनुबन्ध सम्झौतामा हस्ताक्षर गरिरहेकै छन् । देश बनाउन ठेकेदारहरू अलपत्र योजनामा सिमेण्ट, गिट्टी, बालुवा र पानी हालिरहेकै छन् । देश बनाउन समाजसेवीहरूले अनलाइन पोर्टल र युट्युब च्यानल पनि खोलिरहेकै छन् ।
हामी त भाग्यमानी छौं । यस्ता अथक परिश्रमी शासकहरू पाएका छौं, जो हरेक दिन देशलाई नयाँ सस्तो आशाको इँटा थपिरहेछन् । यो अपूर्व र अपूर्ण निर्माण यात्रा आज पनि जोशका साथ अगाडि बढिरहेको छ । देश बनाउने प्रक्रियामा समय त लाग्छ नि ।
२०५ वर्ष भयो के भो र ! २०५० वर्ष लागोस्– हाम्रो धैर्य विशाल छ । हामी त आशावादी छौं– शाश्वत आशावादी । हामी पुनर्जन्ममा पनि विश्वास गर्छौं नि ।
अन्त्यमा, देश कसले बनाउने भन्ने प्रश्न गर्न अब छाडिदिनुस् । किनकि देश त सबैले बनाइरहेका छन् ।
हो, देश अझै निर्माणाधीन अवस्थामा छ । अब केवल केही वर्ष, केही दशक र केही शताब्दी कुरौं । देश त पक्कै बन्नेछ ।