अन्ततः राष्ट्र बैंकमा गभर्नरको नियुक्तिको महान्, महिमामय, महाउत्सव सम्पन्न भयो । वाह ! कस्तो ऐतिहासिक क्षण । अब त रामराज्य आउँछ भन्नेमा कुनै शंका छैन । साँच्चै, गभर्नर नभएर देशले सासै फेर्न नसकेको जस्तो लाग्थ्यो– अब बल्ल हावा खुल्यो । ठूलो राहत मिल्यो ।
देशमा यत्रो ठूलो काम भएको छ, तर जनताहरू आलोचना गर्नै छाड्दैनन् । सरकारको प्रशंसा त गर्दैनन् नै, न त गहिरो ध्यानसाधनबाट निर्देश आउने ठूला मान्छेहरूको समर्पण नै बुझ्छन् ।
ठूला घरका ठूलै चाला हुन्छन् नि त । मन्त्रिपरिषद् पाँचतारे होटेल जस्तो छ त निर्णय प्रक्रिया पनि त्यस्तै हुँदैन त ? पाँचतारे होटेलमा अर्डर गरेको कति बेरपछि चिया आउँछ ? सामान्य चिया पसलमा जस्तो हो त ?
काम गर्न त समय लाग्छ नि । सामान्य टिप्पणी उठाउनु त महीनौं लाग्ने मुलुकमा गभर्नर नियुक्त गर्न दुई महीना लाग्नु त सामान्य हो । त्यस्तै भिसीलगायतका ठूला र महत्त्वपूर्ण पदहरूमा नियुक्ति मिलाउन अर्को छ महीना जति त लाग्ला । यसरी ३० पदमा ९० सिफारिस गरेर ३० जना नियुक्त गर्दा गर्दै सरकारको आधा कार्यकाल मात्र त सकिन्छ । अनि बाँकी समय प्रधानमन्त्रीले कविता लेख्ने, मन्त्रीहरू विदेश जाने र आलोचकहरूको मुख थुन्ने विधिमा बित्छ ।
- जादूगरहरूले स्टेजमा हात्तीसम्म गायब पार्न सक्छन्, तर ठूला मान्छेहरू त सरकारहरूभन्दा पनि ठूला हुन्छन्, जसले ठूल्ठूला पानीजहाज, विमानस्थल, सरकारी जग्गाजमीन, राष्ट्रिय गौरवका भनिएका आयोजनाहरू नै हजम पारिदिन सक्छन् । उस्तै परे कुनै दिन यिनले देश नै गायब पारिदिन बेर लाउन्नन् ।
आखिर सरकारले पनि त के गरोस्, चौबीसै घण्टा काम गर्न त सक्तैन नि । त्यसमा पनि माथिबाट आदेश आउनुपर्छ, ठूला मान्छे, बिचौलिया, विदेशी सबैलाई ‘सन्तुष्ट’ पार्नुपर्छ । यो सबै के सजिलो छ र ?
यसरी विश्वविद्यालयमा समयमै भिसीको नियुक्ति नभएर क्याम्पसहरूमा झिँगाहरूको नृत्य चलिरहेको कुरा होस् वा राष्ट्रिय आयोजनाहरू समयमा नबनेका कुरा, यस्ता विषयलाई लिएर देशका ठूला मान्छेहरूको नामै लिएर झर्को लाग्नेगरी चर्को आलोचना गर्नुको अर्थ छैन । बुझ्नुपर्ने कुरा चैं के छ भने भएन, गरेन भनेर यस्ता गनगनले ठूला मान्छेलाई केही फरक पर्नेवाला छैन । जनताले आलुचना खान नपाए पनि उनीहरू आलोचना खाएरै सत्तामा पुगेका हुन, मोटाएका हुन् । बरु आलोचना गर्नेहरूलाई चैं ग्यास्ट्रिक हुन्छ र मानसिक अपच हुन्छ है ।
ठूला मान्छेहरूलाई कुनै पनि काम गर्न कहिल्यै हतार हुँदैन । हतार त हो साना अथवा भुइँ मान्छेहरूको रासनको लाइन, पासपोर्टको पालो, अस्पतालको बेड, के के के के । ठूला मान्छेलाई त थाहा छ– ‘योजना भनेको कहिल्यै नसिद्धिने सपना’ हो, विकास भनेको ‘सधैं थालिँदैमा सीमित हुने काम’ हो र राजनीति त जो छ, जसको कथा कहिल्यै ‘दि एन्ड’ हुँदैन ।
आखिरमा ठूला मान्छेहरू को हुन् त ? जो ठूला ठूला कुरा गर्छन्, जो नीतिको न पनि नजानी देशको नीति निर्माणमा डाइरेक्ट ड्राइभ गर्न पाउँछन् अर्थात् गाडीको फोटो मात्रै देखेको अनुभवका भरमा साँच्चैको गाडीको सरासर स्टेयरिङ समात्न पुग्छन् । त्यसैले ठूला मान्छेहरूलाई ठूलै काम र अझ ठूलै कुराहरूको सधैं टेन्सन भइरहन्छ । तर साना मान्छे त सानै हुन्छन् । साना साना कुरा गर्छन्, सानै कामहरू गर्छन् । साना मान्छे त गाडीको क्लचजस्तो हुन्– जो धेरै चल्छन् अनि अझ धेरै जल्छन् ।
ठूला मान्छेले संसद् र अदालतलाई अभिनय तालीम केन्द्र बनाउँछन् । कानून भनेको आम नागरिकलाई बाँध्ने डोरी हो भने ठूला मान्छेहरूका लागि त्यो पुल हो– चम्किलो, सीधा र नरोकिने पुल, जसले उसको समृद्धिको वैतरणी पार गराउँछ । त्यसैले त सामान्य मान्छे उही कानूनले जेल जान्छ, तर ठूला मान्छेहरू त्यही कानूनबाट हवाईजहाज चढेर विदेश पुग्छन् । सामान्यका लागि विनाशको बाटो सावित हुन सक्ने यही कानून, ठूला मान्छेहरूका लागि जीपीएसझैं मार्गदर्शक बन्छ ।
त्यसैले ठूला मान्छेहरूलाई सधैंजसो कानून त खेलौना हुन्छ । ठूला मान्छेहरूमा कानूनका नसा नसा पक्रन सक्ने खुबी हुन्छ । त्यसैले ठूला मान्छेहरू नसा नाप्न सक्ने कानूनी वैद्यहरू हुन् । अझ भनौं कानूनका वाल्मिकी हुन्– यिनले कानूनलाई शास्त्र होइन, शास्त्रीय नाच बनाइदिन्छन् ।
जादूगरहरूले स्टेजमा हात्तीसम्म गायब पार्न सक्छन्, तर ठूला मान्छेहरू त सरकारहरूभन्दा पनि ठूला हुन्छन्, जसले ठूल्ठूला पानीजहाज, विमानस्थल, सरकारी जग्गाजमीन, राष्ट्रिय गौरवका भनिएका आयोजनाहरू नै हजम पारिदिन सक्छन् । उस्तै परे कुनै दिन यिनले देश नै गायब पारिदिन बेर लाउन्नन् ।
बजेटको नसा नसा केलाउने र डाडुपन्युँले बजेट छर्कने क्रम अहिले जारी छ । योजना त यहाँ वर्षैपिच्छे आउँछन् । किनभने नयाँ योजना ल्याउने बहानामा पुराना योजना बिर्सन सजिलो हुन्छ । पुराना योजनामा सफलताको हिसाब मागिन सक्छ, नयाँ योजनामा चाहिँ सपना बेच्न पाइन्छ ।
त्यसैले त ठूलो मान्छेहरू कहिल्यै हार मान्दैनन् । जेल जाँदा सेल्फी लिन्छन्, बेल आउँदा बेलुनझैं फुल्छन् । अनि भाग मिलाउन र नयाँ कोट सिलाउनकै लागि भए पनि विदेश भ्रमणमा जान्छन् र पाँचतारे होटेल र क्यासिनोमा ‘राष्ट्रिय भावना’सहित बास बस्छन् ।
ठूला मान्छेहरूलाई साह्रै गाह्रो छ भन्या । बाहिरबाट अत्यन्त सादा जीवन देखाउनुपर्ने, अनि भित्र चाहिँ आयोजनाको कमाइ आफ्नो आधा बनाउनुपर्ने । यता विनाखर्च बिहे भन्नुपर्ने, तर महँगो होटलमा पार्टी दिनुपर्ने । अझ घर त जनताको, गाडी त राष्ट्रसेवाको, बैंक खाता त देशप्रेमको नाममा हुन्छ । अनि बेलाबेलामा बदलिने सरकार भने ठूला मान्छेहरूको लागि फास्ट फूड हो– जहाँ स्वाद फेर्नु लोकतान्त्रिक संस्कार हो ।
ठूला मान्छेहरू निरन्तर काममा लागिरहन्छन् । आफ्ना लागि मीठो सुप बनाउन र अरू मानिसहरूलाई बेबकुफ बनाउन । मान्छेलाई बेबकुफ बनाउन पनि सजिलो कहाँ छ र ? यसका लागि पनि निरन्तर अभ्यास चाहिन्छ नि । ‘भन्छन् कि यो संसारमा बेबकुफहरूको कमी छैन, एउटा खोज, हजारौं भेटिन्छन् ।’ यी पंक्तिहरूको साक्षात् प्रमाण त हामीकहाँ सामाजिक सञ्जाल खासगरी फेसबुकमा देखिने कमेन्टहरू नै काफी छ ।
अझ कतिपय ठूला मान्छेहरू त आफू राजनीति गर्दैनन्, बरु राजनीतिज्ञहरूलाई पाल्छन् । किनकि पाल्न सजिलो हुन्छ । पाल्यो भने फाल्न पनि सहज हुन्छ । अर्थात् जब बिटाहरूले ठिटाहरू परिचालन गर्छन्, तब चरित्रमा बाछिटा पनि लाग्दैन । बिटाहरूको प्रयोग गरेर ठिटाहरू परिचालन गर्न सक्नेहरू नै साँचो अर्थमा ठूला मान्छे हुन् । अहिले गभर्नरको होस् वा बीमा प्राधिकरणको अध्यक्षलगायत नियुक्ति सबैमा यस्तै ठूला मान्छेहरूको हात स्पष्ट देखिन्छ, तर टाउको चैं देखिन्न । त्यसैले यी मुर्कट्टा हुन् ।
मुर्कट्टा भनेका तर्साउने मात्र हुँदैनन, तपाईंलाई पैसा बर्साउने पनि हुन्छन् । त्यसैले ठूलो मान्छेहरूलाई हामीले सधैं मान्नुपर्छ र उनीहरूले जे गर्छन्, राम्रै गर्छन् भन्ने ठान्नुपर्छ । उनीहरूलाई शंका गर्नु भनेको देशको चुच्चे नक्सा नमान्नु जस्तै अपराध हो ।
म त भन्छु– ठूला मान्छेहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिऔं । अनि हेरौं, उनीहरू राष्ट्रको नाममा ठूला–ठूला सपना कसरी बेच्छन् । १० वर्षअघिको राष्ट्रिय योजनाहरू कसरी आज बलियो शिलान्यासमा रूपान्तरण गर्दैछन् । एउटै धारो कल्ले धेरैपटक उद्घाटन गर्ने भन्ने त प्रतिस्पर्धा नै छ । यसरी नै विकासको शंख बज्दैछ, बज्न दिऊँ न त । ठूला मान्छे ठूला काम गरिरहन्छन्, हामी भुइँमान्छे काममा जोतिइरहौं न हुन्न ?