काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको थियो ।
यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता आईपीओ साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो । स्थानीयमा जारी भएको शेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो ।
दुवैतर्फको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छिटोमा असार १३ गतेसम्म निष्कासनमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २९ गतेसम्म निष्कासन लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार १३ गतेभित्र आवेदन दिनु पर्नेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, बिक्री प्रबन्धकको वेबसाइटमार्फत पनि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरीद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनी २१ लाख ५० हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।