काठमाडौं । पछिल्लो केही दिनयता लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । ९ कारोबार दिनमा यस समूहको सूचक ७ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । फागुन २७ गते यस समूहको सूचक ३ हजार ७३८ दशमलव ३५ विन्दुमा रहेकोमा चैत ८ गते बढेर ४ हजार १० दशमलव २५ विन्दुमा पुगेको हो ।
लघुवित्त कम्पनीको शेयर मूल्य ह्वात्तै घटेपछि अहिले यी कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । गत वर्ष नेपाल राष्ट्र बैंकले लाभांशमा कडाई गरेपछि लघुवित्त कम्पनीको शेयर मूल्य घट्न थालेको थियो । त्यो बेला प्रतिकित्ता रू. ५ हजारभन्दा बढी रहेको एक लघुवित्त कम्पनीको शेयर मूल्य अहिले रू. १६/१७ सयमा झरेको छ ।
पछिल्लो समय लगानीकर्ताले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिएको छ । केही समयअगाडि जलविद्युत्, बीमा कम्पनी, विकास बैंक, वित्त समूहका कम्पनीको शेयर मूल्य बढ्दा लघुवित्त समूहको कम्पनीको शेयर मूल्य भने घटेको थियो । अहिले अरु समूहबाट लघुवित्त समूहका कम्पनीको शेयरमा लगानीकर्ता 'सिफ्ट' भएको जानकार बताउँछन् ।
पछिल्लो समय लगानीकर्ताले कम शेयर संख्या भएका कम्पनीको शेयर कारोबार गरिरहेको देखिन्छ । यही कारण लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण रहेको जानकारको भनाइ छ ।
आकर्षण बढेसँगै कतिपय लघुवित्त कम्पनीको शेयर मूल्य बढिरहेको छ । बिहीवार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४०८ पुगेको छ ।
सोही दिन किसान लघुवित्तको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत बढेर प्रतिकित्ता रू. १ हजार २० पुगेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ६१ प्रतिशत बढेर रू. १ हजार ७०५ पुगेको छ ।