विराटनगर । कोशी प्रदेश सरकारले आगामी ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ का नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले बुधवार यी तीन पहिचान सार्वजनिक गरेका हुन् । पर्यटन वर्षको नारा ‘कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैको सम्मान’ तय गरिएको छ । यसैगरी, पर्यटन वर्षको मस्कट नमस्कार गरिरहेको रेडपाण्डा छानिएको छ भने लोगो नेपालको राष्ट्रिय झण्डाको नीलो, सेतो र रातो घेराभित्र तयार गरिएको छ । लोगोमा माथिल्लो भागमा हिमाल, त्यसको तल पहाडी क्षेत्र र त्यसको तल अर्नासँगै बगिरहेको नदीसहितको तराई–मधेश क्षेत्र समावेश
गरिएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गरी नारा, लोगो र मस्कट निर्माणका लागि प्रतिस्पर्धा आह्वान गरेको थियो । उत्कृष्ट डिजाइन तयार पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भए पनि विजेताको नाम भने हाल सार्वजनिक गरिएको छैन ।
मन्त्रालयले पुरस्कार प्रदान गर्ने दिन मात्रै विजेताको नाम खुलाउने तयारी गरेको जनाएको छ । मन्त्री मण्डलले कोशी प्रदेश सरकारको समृद्धिको आधार नै पर्यटन भएकाले यस क्षेत्रको पर्यटन विकासका लागि सरकार सरोकारवालाहरूसँग हातेमालो गरेर अघि बढिरहेको उल्लेख गरे । कोशी प्रदेशको पहिलो प्राथमिकतामा स्थलमार्गबाट आउने भारतीय पर्यटक रहेकाले त्यसैमा केन्द्रित भएर पर्यटन पूर्वाधार विकासमा सरकार लागेको उनले बताए ।