अचेल नेपालमा आर्थिक गतिविधिहरू सुस्त हुँदै गएका छन् र यो अवस्था अझ विकराल हुने त्रास फैलिन थालेको देखिन्छ । उत्तरी छिमेकी चीन र दक्षिण छिमेकी भारत एशियाका मात्रै होइन, विश्वकै आर्थिक शक्तिका रूपमा उदाउँदै गरेका यी विशाल अर्थतन्त्रका माझमा अवस्थित करीब ३ करोड जनसंख्या भएको मुलुक नेपालमा यस्तो समस्या विकास हुँदै जानु निश्चय नै गम्भीर अनुसन्धानको विषय बन्न गएको छ । उर्वर भूमि, प्रशस्त मात्रामा जलस्रोतको उपलब्धता, जैविक र जलवायुगत विविधता जस्ता तमाम सकारात्मक पक्ष विद्यमान हुँदाहुँदै पनि मुलुकको अर्थतन्त्र पूरै ध्वस्त हुनेजस्ता आशंका प्रबल हुँदै जाँदा यसको मूलमा गएर विश्लेषण गर्न जरुरी छ ।
बढ्दो आयात र आयातको विशाल आकारले स्वदेशमा उपभोक्ता छन्, बजार छ र उपभोक्ताको क्रयशक्ति छ भन्ने पुष्टि गर्छ । तर, त्यो बजारलाई स्वदेशी उद्योगहरूले किन उपयोग गर्न सकेका छैनन्, लगानीकर्ता यस्तो आकर्षक बजार लक्षित लगानी गर्न किन इच्छुक छैनन् भन्ने विषयमा सर्वत्र चिन्ता र चासो पाइन्छ ।
नेपाली उत्पादकहरूले भारत र चीनजस्ता पूर्वाधारमा अब्बल देशहरूका उत्पादनसँग प्रतिस्पर्धा गरिरहनु परेको छ । पूर्वाधारको दयनीय अवस्थामा लगानीको आश गर्नु मृगतृष्णाजस्तै हुन जान्छ ।
सिद्धान्तत: लगानीकर्ताका लागि बजार र वातावरण सबैभन्दा बढी महत्त्व राख्ने विषय हुन् । बजार हुँदाहुँदै पनि लगानी गर्ने वातावरण भएन भने निश्चय नै लगानी हुँदैन । लगानी गर्ने वातावरण भए तापनि बजार भएन भने पनि लगानी हुँदैन । नेपाल जस्तो भूपरिवेष्टित एवम् औद्योगिकीकरणमा अति पछिडिएको मुलुकमा लगानीका लागि वातावरणले सबैभन्दा बढी महत्त्व राख्छ । लगानीकर्ताले अस्वस्थ प्रतिस्पर्धाबाट संरक्षण चाहिरहेको हुन्छ । समाजबाट सम्मान चाहिरहेको हुन्छ । राजनीतिबाट सुरक्षा चाहिरहेको हुन्छ र कानूनबाट सहजीकरण, सरलीकरण र प्रोत्साहन चाहिरहेको हुन्छ । अन्य मुलुकका उत्पादनहरूसँग प्रतिस्पर्धा गर्न सोही अनुसारका भौतिक पूर्वाधार चाहिन्छ । परन्तु, भारत र चीनलगायत विश्वका प्रमुख आर्थिक शक्ति देशहरूका उत्पादनहरूसँग नेपाली उत्पादनहरूलाई संरक्षण प्रदान गर्ने विषयमा अपेक्षित कदमहरू चाल्न सकिएको छैन ।
नेपाल आयातमैत्री वातावरण भएको मुलुकहरूमा गनिन्छ । नेपालमा लामो समयदेखि उद्यमी हुनु भनेको अभिशाप हो र आयातकर्ता हुनु भनेको वरदान हो भन्ने अभिव्यक्ति चल्दै आएको छ । लगानीकर्तालाई नेपाली समाजले सम्मान दिनेसमेत गरेको छैन । लगानी, मुनाफा, उच्चस्तरको जीवनशैली र व्यावसायिक ख्यातिहरूलाई शोषक सामन्तको पर्यायका रूपमा चित्रण गर्ने आम सामाजिक मनोविज्ञान नेपाली समाजमा विद्यमान छ ।
लगानीले राजनीतिबाट सुरक्षा चाहिरहेको हुन्छ । राजनीतिक दलहरूका दृष्टिकोणमा समानता र सार्वजनिक नीतिहरूमा स्थिरता लगानीकर्ताको पहिलो अपेक्षा हुने गर्छ । परन्तु नेपालमा यी दुवै पक्षहरूमा स्थिरता देखिएको छैन । यी विषय जहिले पनि परिस्थितिअनुसार क्षणिक प्रकृतिका बन्दै गएका छन् । यस्तो अनिश्चयरूपी अस्थिरतामा कुनै पनि लगानीकर्ता लगानी गर्न इच्छुक हुँदैन ।
नेपाल आयातमैत्री मुलुकका रूपमा मात्र परिचित छैन । अनौठो खालको खुला सिमानाको अवधारणाबाट समेत परिचित छ । यो खुला सिमानाको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा नेपालमा कुनै पनि लगानीकर्ताले नेपाली उपभोक्ता लक्षित लगानी गर्न सक्ने वातावरण छैन । खुला सिमानाका कारण सीमा वारपार अनियन्त्रित आर्थिक गतिविधिका कारण नेपाली अर्थतन्त्रको वास्तविक अनुमान नै लगाउन नसकिने अवस्था छ । खुला सीमाका कारण आयातको चरित्रमा आउने उतारचढावमा माझ नेपाली उत्पादनहरू बजारमा टिक्न नसक्ने अवस्था छ । त्यसैले लगानीकर्तामा नेपालमा उद्योग खोल्नमा चरम अनिच्छा व्याप्त रहेको हो भन्न सकिन्छ ।
भूपरिवेष्टित अवस्थिति, प्रारम्भिक चरणमा रहेको औद्योगिकीकरण, औद्योगिक सञ्जाल (कच्चापदार्थदेखि तयारी मालवस्तु उत्पादनसम्मका चरण, सहायक उद्योग र जनशक्ति विकास, अनुसन्धान र विकास) को अनुपस्थिति एवम् इकोनोमी अफ स्केलको अनुपस्थितिका कारण नेपाली उत्पादनहरू तुलनात्मक रूपमा भारत र चीनका उत्पादनहरू भन्दा महँगो पर्न जाने हुन्छ । यस अवस्थालाई सम्बोधन गर्न सरल कानूनी प्रावधानहरूसहित सरकारबाट यथोचित प्रोत्साहन र छूटको व्यवस्था हुन आवश्यक हुन्छ । परन्तु उपर्युक्त विषयहरूलाई सम्बोधन हुने गरी यस क्षेत्रमा पर्याप्त कार्यहरू सम्पन्न हुन सकेका छैनन् ।
नेपाल आयातमैत्री वातावरण भएको मुलुकहरूमा गनिन्छ । नेपालमा लामो समयदेखि उद्यमी हुनु भनेको अभिशाप हो र आयातकर्ता हुनु भनेको वरदान हो भन्ने अभिव्यक्ति चल्दै आएको छ । लगानीकर्तालाई नेपाली समाजले सम्मान दिनेसमेत गरेको छैन ।
नेपाली उपभोक्ताको मनोविज्ञान पनि नेपाली उत्पादनहरूप्रति सकारात्मक छैन । समान गुणस्तर विद्यमान रहँदा पनि उनीहरूको रोजाइ आयातित ब्राण्ड हुने गरेको छ । नेपाली ब्रान्डलाई समाजमा स्थापित गर्न नेपाल सरकार, निजीक्षेत्र, सम्बद्ध उद्यमीहरू र समाजका विभिन्न पक्षको ध्यान जान नसक्दा यो अवस्था सृजना भएको हो ।
नेपालको आम मनोविज्ञान जागीरे प्रवृत्तिको रहँदै आएको छ । यस वातावरणमा उद्यमशीलताको जोखिम मोल्न नेपाली समाज तयार छैन । उद्यमीका सन्तान उद्यमी हुने विश्वव्यापी मान्यताका विपरीत जागीरे हुन रुचि राख्ने नेपाली समाजमा उद्यमशीलता बिलाउँदै जानु स्वाभाविक नै मान्नुपर्छ । नेपालीहरूको विदेश बसाइँसराइमा यो पक्ष पनि त्यत्तिकै जिम्मेवार रहेको छ । उद्यमशीलता भर्सेज जागीरको मनोविज्ञानको द्वन्द्वमा जागीरे मनोवृत्ति यत्ति धेरै हाबी भएको समाजमा लगानी गर्ने उत्साह हुँदैन ।
उजाडिन लागेको समाजमा सबैको ध्याउन्न नयाँ गन्तव्य नै हुन्छ । नेपाली समाज यसरी उजाडिदै जाँदा स्वदेशमा मागमा कमी आउन थालेको छ । नेपालको शहरी क्षेत्र ‘टु–लेट’का सूचनाहरूले भरिन थालेका छन् भने गाउँघरतिर घरमा ताल्चाहरूले पहरा दिइरहेका छन् । नेपालबाट अर्बपतिका सन्तानहरू पनि बसाइ सरेका छन् । विदेशमा भन्दा राम्रो कमाइ नेपालमा भएका व्यक्तिहरू पनि बसाइँसराइ भएका छन् । यसका पछाडि आर्थिक कारण मात्र जिम्मेवार छैन । विकसित देशको जीवनयापनलाई नजिकैबाट नियालिरहेको नेपाली समाज नेपालको वर्तमान अव्यवस्था र सम्मानजनक जीवनयापनको अभावमा नेपाल छोड्न लागिरहेको तीतो यथार्थ छ । एक्काइसौं शताब्दीमा अन्यत्र आधारभूत आवश्यकताका रूपमा मान्यता पाएका सवारीसाधनमा पहुँच, ट्राफिक जामरहित चौडा सडक, २४ सै घण्टा उपलब्ध हुने ग्यास आपूर्ति, खानेपानी आपूर्ति, मनोरञ्जनका साधनको उपलब्धता, अनुमानयोग्य सरकारी सेवा प्राप्ति तथा शिक्षामा लगानीअनुसार सम्मानजनक रोजगार नहुँदा यी सेवा सहज रूपमा प्राप्त हुने समाजमा नेपाली समाज बसाइँसराइ गर्दै आएको छ ।
अतिलोभ, शीघ्र मुनाफा र देखासिकी तथा हल्लाका भरमा लगानी गर्ने नेपाली आम मनोविज्ञानले नेपालमा लगानीको वातावरण बिथोलिइरहेको छ । यसरी गुणस्तरीय लगानीको अभावमा मुलुकको अर्थतन्त्रमा फोकासरह फुक्ने र फुट्ने प्रवृत्ति दोहोरी रहन्छ । यस्तो प्रवृत्तिले मुलुकको अर्थतन्त्रको छवि बिग्रन गई लगानीको वातावरणसमेत बिथोलिन जान्छ । परन्तु अतिलोभ, शीघ्र मुनाफा र देखासिकी तथा हल्लाका भरमा लगानी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुको साटो क्षणिक लोकप्रियताका लागि यस्ता गतिविधि निर्बाध सञ्चालन हुन दिँदा नेपालमा उत्पादनशील क्षेत्र लगानीको दृष्टिले छायामा पर्दै गएको छ ।
लगानीको सुरक्षाका लागि अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रतिस्पर्धाका संरक्षण र अति प्रतिस्पर्धाबाट संरक्षण पनि हो । बजारअनुसार कति उद्योग खोल्न उपयुक्त हुन्छ, कति ओटा फर्म चाहिन्छन् भन्ने विषय सरकारको पनि सरोकारको विषय हुन जान्छ । अनुमति माग गर्दैमा जसलाई जति संख्यामा पनि अनुमति दिँदै जाँदा स्थापित धराशयी हुने र नवस्थापित टिक्न नसक्ने अवस्था सृजना हुन जाने खतरालाई नियमनकारी निकायले सम्बोधन गर्नुपर्छ । परन्तु प्रतिस्पर्धाको संरक्षण र अति प्रतिस्पर्धाबाट संरक्षण गर्न सक्ने गरी नेपालका नियमनकारी निकायहरूको क्षमता अभिवृद्धि गर्नेतर्फ ध्यान नै गएको छैन । यस्तो अव्यवस्थामा लगानीकर्ता लगानी गर्न अनिच्छुक रहन्छन् ।
नेपाली उत्पादनहरूले भारत र चीनजस्ता पूर्वाधारमा अब्बल देशहरूका उत्पादनसँग प्रतिस्पर्धा गरिरहनु परेको छ । नियमनकारी निकायहरू, नियन्त्रण संयन्त्र, संस्थागत क्षमता, भौतिक संरचनालगायतका सबै प्रकारका संरचनाले वस्तुको लागत न्यूनीकरण र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न भूमिका खेल्ने गर्छन् । त्यसैले लगानकर्ताले मुलुकभित्र उपलब्ध पूवर्धारको सूक्ष्म अवलोकन गरिरहेको हुन्छ । नेपाली उत्पादकले भारत र चीनजस्ता पूर्वाधारमा अब्बल देशका उत्पादनसँग प्रतिस्पर्धा गरिरहनु परेको छ । पूर्वाधारको दयनीय अवस्थामा लगानीको आश गर्नु मृगतृष्णाजस्तै हुन जान्छ ।
उपर्युक्त परिस्थितिलाई दृष्टि गर्दै शिक्षामा जगैदेखि उद्यमशील संस्कार सिकाउने गरी पाठ्यक्रम र पाठ्यशैलीमा सुधार, राजनीतिक दलहरूमा अर्थतन्त्रका बारेमा एकरूपताको व्यवस्था, खुला सिमानाको व्यवस्थापन, बाझिएका कानून र जेलिएका प्रक्रियाको सरलीकरण, उद्योगमैत्री करनीति, अतिप्रतिस्पर्धालाई नियमन गर्ने अभ्यासको थालनी, विकसित देशहरूले प्रदान गरेसरह सुुविधा र स्वतन्त्रताको उपभोग गर्ने वातावरणको सृजना, शिक्षालाई सम्मानजनक रोजगारसँग जोड्ने परिपाटीको विकास, अनुमानयोग्य गुणस्तरीय सरकारी सेवा प्रवाह, आधुनिक सरसुविधाको आम उपलब्धता आदिमा सरकारको ध्यान जानै पर्छ । त्यसैगरी गुणस्तरीय पूर्वाधारमा व्यापक लगानी र सरकार उद्योगको संरक्षण, पक्षपोषक र उत्प्रेरकको रूपमा अघि लाग्न सकेकोे खण्डमा निश्चय नै नेपालमा लगानीको वातावरण सृजना हुने देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।