काठमाडौं । शेयर बजारका लगानीकर्ता संगठनहरूले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष संयुक्तरूपमा सुझाव पेश गरेका छन् ।
शेयर लगानीकर्ता संघ नेपाल, पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिको टोलीले आइतवार संयुक्तरूपमा राष्ट्र बैंकसमक्ष सुझाव बुझाएका हुन् ।
उक्त टोलीमा अग्रज लगानीकर्ता छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्की (रोहन) सहभागी थिए ।
लगानीकर्ताहरूले व्यक्तिगत धितोकर्जाको १५ करोड रुपैयाँसम्मको सीमा पूर्णरूपमा खारेज गर्न माग गरेका छन् । यसले लगानीकर्ताको पहुँच बढ्ने भनाइ लगानीकर्ताहरूको छ ।
उनीहरूले लघुवित्त कम्पनीहरूमा रहेको लाभांश वितरणको 'क्याप' हटाउन पनि माग गरेका छन् । लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा विभिन्न जगेडा कोष खडा गर्नुपर्ने अवस्थामा खुला अर्थनीतिको सिद्धान्त विपरीतको नीति रहेको ठहर गर्दै लगानीकर्ताहरूले त्यसका लागि स्वतन्त्र छोड्नुपर्ने माग गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पूँजीको पूँजी बराबर लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन, २०७३ मा व्यवस्था भएबमोजिम सीमा कायम गराउन लगानीकर्ताहरूले सुझाव दिएका छन् ।
गैरआवासीय नेपालीले नेपालको पूँजीबजारमा लगानी गर्ने वातावरण बनाउन लगानीकर्ताले राष्ट्र बैंकसमक्ष माग गरेका छन् । उनीहरूले हालको विद्यमान कानुनी व्यवस्थाले नाफा पुन: फिर्ता लैजान नसक्ने अवस्था रहेकोमा सो जटिलतालाई परिमार्जन गरी गैरआवासीय नेपालीलाई नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी आवश्यक लगानीको वातावरण सिर्जना गर्नुपर्ने माग गरेका हुन् ।