न्यूयोर्क (संयुक्त राज्य अमेरिका) । फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्म्सले मंगलवार आफ्नो एआई सहायक (मेटा एआई)का लागि छुट्टै एप सार्वजनिक गरेको छ । यो एप माइक्रोसफ्ट समर्थित ओपनएआई र अल्फाबेटको गुगलजस्ता कम्पनीले ल्याएका एआई एपजस्तै हुनेछ ।
हालसम्म मेटा एआई सहायक ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरजस्ता मेटाका आफ्नै प्लेटफर्ममा मात्र उपलब्ध थियो । अब भने कम्पनीले यसको प्रयोग विस्तार गर्ने लक्ष्यसहित अलग एप सार्वजनिक गरेको हो ।
यो कदमलाई मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको एआई प्रतिस्पर्धामा कम्पनीको उपस्थिति बलियो बनाउने रणनीतिक प्रयासका रूपमा हेरिएको छ । ओपनएआई, गुगल, डीपसीक र एनथ्रोपिकजस्ता प्रमुख प्रतिस्पर्धीसँग टक्कर दिने उद्देश्य मेटाको छ ।
मेटाले तयार पारेको एलएलएमए–४ नामक नयाँ बृहत् ल्याङ्वेज मोडलबाट मेटा एआई सञ्चालित हुनेछ । यो मोडलले धेरै भाषामा काम गर्न सक्ने, अझ प्रभावकारी रूपमा तर्क गर्न सक्ने र कुशल कार्य सम्पादन गर्न सक्ने दावी गरिएको छ ।
कम्पनीका अनुसार नयाँ एप मेटाका एआई चश्मासँग समायोजन हुनेगरी विकास गरिएको छ । यसले पहिलेको सहायक एपसँग समाहित भएर काम गर्नेछ ।
मेटाले यसै वर्षको दोस्रो त्रैमासिकदेखि एआई च्याटबोटको उन्नत संस्करणका लागि सशुल्क सदस्यता सेवा परीक्षण गर्ने तयारी गरेको छ । यद्यपि, उक्त सेवा आम्दानीको प्रभावकारी स्रोत बन्न अझ केही समय लाग्ने अनुमान गरिएको छ । सन् २०२३ को सेप्टेम्बरमा शुरू गरिएको मेटा एआई बृहत् भाषा मोडलमार्फत तर्क र विश्लेषण गर्न सक्ने भर्चुअल सहायक हो । सीएनएन