खाने तरीका हजार छन् । कि चम्चाले कि चम्चा भएर । चक्कु, काँटा, हात, हुल र हथकन्डा, सबै मह चाट्न उपयुक्त छन् । कसैले घुमाएर खान्छ, कसैले फकाएर । कोही धम्काएर, कोही गलाएर । कोही थर्काएर, कोही झुकाएर । कोही देखाएर, कोही लुकाएर अनि कोही कुकुरले झैं चाट्छन् ।
जानकारहरू भन्छन्, ‘सही समय र सही शैलीमा चाटे मह मीठो हुन्छ, नत्र त हर्पेभरिको घिउले पनि के गर्छ र उल्टै डकार फेर्न पनि गाह्रो पर्छ ।’
- मह खाइँदैन, चाटिन्छ । खाने र चाट्ने फरक कुरा हुन् । जस्तै घूस खाइन्छ, चाटिँदैन । दिमाग मात्र यस्तो चीज हो, जसलाई खाइन्छ पनि र चाटिन्छ पनि ।
- सरकार जुनसुकै होस्, कानून तिनैको विरुद्धमा कारबाही गर्छ, जसको चाट्ने कला छैन, उसैलाई कानूनले चपाउने हो ।
- मह काढ्नेले हात चाट्नु पुरानो संस्कार हो । तर, मह जसले काढे पनि आफैले चाट्नुपर्छ भन्ने चाहिँ कुराको चुरा हो है ।
- मह खानकै लागि पूर्वसचिवहरूलाई राजनीतिक नियुक्ति चाहिएको छ । पूर्वभीआईपीलाई राज्यकोषबाट भत्ता, घर, गाडीको सुविधा चाहिएको छ ।
जस्तै, वलीजी सबै कुरा जान्नुहुन्छ । (प्रम ओली भनेको हैन है, त्यत्रो धृष्टता म कसरी गर्न सक्छु र ?) । उहाँ त राजधानीकै रजगज वैद्य बा, गुगल गुरुदेखि गल्फी गोर्खासम्मको ज्ञानगुरु ।
उहाँसँग भेट भयो । सोध्यौं, ‘मह कसरी खाने ? जसले गर्दा स्वास्थ्य सधैँ ठीक रहोस् र कोरोनालाई पनि हाच्छ्युँ गरेर हटाउन सकियोस् ?
उहाँले धपक्क बलेर भन्नुभयो, ‘खाने कुरामा नियम कानूनको ठूलो महत्त्व हुन्छ । मह खाने होस् कि नगद, सबैमा यही हो । नगद खान पाए त आफ्नो मात्र होइन, घरभरीका, बाहिरका र सालासालीलगायत सबैको स्वास्थ्य टनाटन हुन्छ । घरको मात्र किन ? वास्तवमा देशकै स्वास्थ्यको रहस्य नै यही हो । त्यसैले खाऊ र खान देऊ । भ्रष्टाचारको बारेमा सोच्दै नसोच ।’
सदाचारको उल्टो भ्रष्टाचार । अब सदाचारी खोज्न त सत्ययुगमा ब्याक हुनुपर्ला । पञ्चतन्त्र पढ्यो भने थाहा हुन्छ, सत्य कसरी असत्य हुन्छ अनि असत्य कसरी सत्य हुन्छ । त्यसैले भ्रष्टाचारको दायरा धेरै ठूलो छ । झूट बोल्नु, झूटा आश्वासन दिनु र कुर्सी किन्नु पनि भ्रष्टाचार नै हो । चुनाव जितेपछि सेवाको नाममा विनाढेवा मेवा खानु र मनपरी गर्नु झन् ठूलो भ्रष्टाचार हो । सोच्यो भने यस्ता धेरै कुरा छन् । सोचेन भने केही पनि छैन ।
नयाँ जमाना छ, त्यसैले नयाँ सोच लिएर अगाडि बढ्नुपर्छ । नयाँ सोच यो हो कि धेरै सोच्ने नै होइन । बिहानै उठेर ऐनाअगाडि उभिएर तीन पटक भन्नुस्, ‘भ्रष्टाचारको वैधानिक टेन्डर जारी छ ।’ तर, मन पवित्र, आत्मा शुद्ध हुनुपर्छ । यति गरेपछि बाँकी जे गरे पनि हुन्छ । सरकार जुनसुकै होस्, कानून तिनैको विरुद्धमा कारबाही गर्छ, जसको चाट्ने कला छैन, उसैलाई कानूनले चपाउने हो । अहिले माधव कामरेडलाई नै हेर्नुस् न । अरूले जस्तै खाने कला भएको भए अहिले शायद उनलाई अप्ठेरोमा पार्दैनथे होलान् । उनी त झन् विना ढेवावाला जो परे ।
हरेक सरकार चाहन्छ कि उसको विरुद्धमा कसैको उजुरबाजुर नआओस् । उजुरी आएपछि कारबाही गर्नुपर्छ र भ्रष्टाचारविरुद्ध बयान र भाषण पनि दिनुपर्छ ।
घूस दिने र लिने एक कला हो । यो काममा सफल मानिसहरूलाई नै कलाकार भनिन्छ । वलीजी त महको कुरा गर्दा गर्दै भ्रष्टाचारमा पुग्नुभयो । उहाँलाई बेलाबेलामा खाने कुरा याद त आउँछ तर मह खान बिर्सनुहुन्छ । कसैले सम्झाएपछि फेरि चाट्न थाल्नुहुन्छ ।
एकपटक वलीजीसँग भेटघाट गर्ने अवसर जुर्यो अनि भेट्नासाथ फ्याट्टै सोधिहालें ।
‘तपाईं त ब्रह्माण्डकै महागुरु । हामी एउटा तुच्छ कुरा जान्न आएका छौं, मह कसरी खाने होला ?’
उहाँले हाँस्दै भन्नुभयो, ‘पहिले भाषा सुधार । मह खाइँदैन, चाटिन्छ । खाने र चाट्ने फरक कुरा हुन् । जस्तै घूस खाइन्छ, चाटिँदैन । दिमाग मात्र यस्तो चीज हो, जसलाई खाइन्छ पनि र चाटिन्छ पनि । स्वास्थ्यका लागि मानिसहरूले घाम पनि खान्छन् तर मह चाट्नु फरक कुरा हो । अनि मह काढ्नेले हात चाट्नु पुरानो संस्कार हो । तर, मह जसले काढे पनि आफैले चाट्नुपर्छ भन्ने चाहिँ कुराको चुरा हो है । अनि फेरि महको गुलियोमा मात्रै भुलियो भने त मामाघरतिर पुग्न पनि बेर लाग्दैन नि ।’
‘हामी पनि मह चाट्न चाहन्छौं । तर कसरी ?’ मैले फेरि सोधेँ ।
‘कस्तो मान्छे हो तपाईं ? बिस्तारै बोल्नुस् र चाट्ने कुरालाई हल्का रूपमा नलिनुस् न । कसैले सुन्यो भने कुर्सी नै हल्लिन सक्छ । बदनामी छुट्टै हुन्छ । कुरा के भने चाट्ने विधान गहिरो छ । यो कुरा अनुभवले मात्र बुझिन्छ ।’
उहाँ फेरि मह छोडेर राजधानीको गुट राजनीतिमा प्रवेश गर्नुभयो र भन्नुभयो, ‘राष्ट्रपति भैसकेको मान्छेले पुराना कार्यकर्ताहरूलाई भेट्नु के उचित हो र ?’
मैले भनें, ‘त्यो त हामीलाई थाहा हुने कुरा भएन । तर तपाईं यो बताइदिनुस् कि हामीले पनि मह कसरी सेवन गर्ने त ?’
उहाँ बर्बराउन थाल्नुभो, ‘हेर्नुस्, सत्ता भनेको जङ्गली, अझ भीर मह हो, अलिअलि मात्र चाट्नुपर्छ । नयाँले त्यो जान्दैनन् अनि अक्कलविनाको नक्कल बन्छ । एकैचोटि धेरै चाट्यो भने पच्दैन । अब चास्नीको मह भए अर्कै कुरा हो । फेरि यो मह चम्चाबिना चाट्न सकिँदैन । मह चाट्न तपाईंसँग चम्चा छ त ?’
‘चम्चा त थुप्रै छन् नि । तर हामीसँग मह पो छैन त । मह कहाँ कसरी चाट्न सकिन्छ भनेर पो सोध्न आएको त ?’
वलीजी बोल्न थाल्नुभो, ‘आफै चम्चा बन्न सक्यो भने राम्रो हुन्छ । किनकि पहिले त मह चम्चामा टाँसिन्छ । मह काढ्ने नै हो भने पहिले कि कुनै बिचौलिया समाउनुस् कि कुनै वाचाल सांसदसँग लाग्नुस् । अनि मह सावधानी तरिकाले चाट्यो भने पौष्टिकता प्राप्त हुन्छ, हतपतमा त लतपत हुन सक्छ ।’
‘ए हजुर, म त फूलको रसको महको कुरा गरिरहेको छु । तपाईं त लेनदेनको मोहबाट बाहिरै आउनुहुन्न त ।’
‘फूलको रसको मह त मसँग छैन । त्यसो भए तपाईं नै ल्याउनुस् महको डब्बा अगाडि भएपछि मात्र म भन्न सक्छु कि कसरी चाट्ने भनेर । खाने पिउने ज्ञान बोलेर मात्र प्राप्त हुँदैन, खानै पर्ने हुन्छ । बरु दुई डब्बा ल्याउनुस् । किनकि जानकारी दिने क्रममा एउटा हामीले जुठो गर्छौं, त्यो हामी नै राख्छौं ।’
वलीजीकहाँबाट फर्किंदै गर्दा मनमा धेरै कुराको ज्ञान भएको आभास भइरहेको थियो । साँच्चै, खान पनि जान्नु पर्दोरहेछ । जस्तै, कार्यकाल सकिएका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रिपरिषद्को अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष पूर्वविशिष्ट पदाधिकारी सेवानिवृत्त कर्मचारीले मह खाने उपाय निकालिसकेका रहेछन् । सोहीअनुसार पूर्वविशिष्टहरूका लागि महको व्यवस्था नयाँ विधेयकमा प्रस्ताव गरिएको रहेछ ।
मह खानकै लागि पूर्वसचिवहरूलाई राजनीतिक नियुक्ति चाहिएको छ । पूर्वभीआईपीलाई राज्यकोषबाट भत्ता, घर, गाडीको सुविधा चाहिएको छ । राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिलाई राजनीतिक दलको नेतृत्व गर्नु छ । सरकार विकास गर्न पैसा अपुग भनेर कराइरहन्छ । कराइरहोस् न त । खान त पर्यो नि । नखाईकन को बाँच्न सक्छ र यहाँ, त्यो पनि मह । त्यसैले मीठो मह त चाट्नै पर्यो नि । कसो ? तपाईं मह खाने कि चाट्नेमा पर्नुहुन्छ कुन्नि ?