काठमाडौंको हृदयस्थल, जहाँ सडकहरू नेपाली युवाजस्तै दोधारमा छन्– गाउँ फर्किने कि विदेशतिर लर्किने, यतै खर्किने कि सबै कुराबाट तर्किने भनेर । त्यहाँ अवस्थित छ माइतीघर । जसको नाममै यस्तो भावुकता मिसिएको छ कि लाग्छ– यो ठाउँ आँसु झर्ने मात्र होइन, इतिहास बोक्ने केन्द्र हो । तर आजभोलि यहाँ आँसुले आँखा भिजाउने होइन, नाराले गगन घन्काउने चलन चलेको छ ।
- माइतीघरको प्रदर्शनमा आज राजा ल्याउनेहरू, भोलि पैसा पीडितहरू, पर्सि डाक्टर, उर्सि यातायात सञ्चालकहरू, अनि त्यसपछिका दिनमा पत्रकार, कलाकार, शिक्षक, विद्यार्थी...सबैको पालो आउँछ । तर, जसको संगठन छैन, पार्टी छैन, बलियो आधार छैन, त्यसलाई माइतीघरले चिन्दैन, सरकारले गन्दैन, पत्रिकाले पनि समाचार भन्दैन । त्यस्ता प्रदर्शनकारी कि मामाघरमै सड्छन् कि त पासोमा चढ्छन् ।
यो चोक कहिल्यै फुर्सदमा हुँदैन । अब त यो अनेकथरी आन्दोलनको जनरल वार्डमा परिणत भइसकेको छ । सर्वसाधारणका लागि भने माइतीघर कुनै कामको चोक होइन, जामको चोक हो । जाडोमा घाम ताप्न र प्रदर्शनकारीहरूलाई सरकारसँग माग थाप्न मिल्ने चोक हो । खासमा भन्नुपर्दा, यो नेपालको डेमोक्रेटिक रंगमञ्च हो– जहाँ माग प्रस्तुत गर्न सुत्केरी महिला होस् वा सेवानिवृत्त सैनिक, सबै तयार छन् प्लेकार्डसहित । यहाँ प्रदर्शनको मोटामोटी क्यालेन्डर पनि छ– अघोषित, तर अत्यन्त व्यवस्थित ।
साप्ताहिक रुटिन यस्तो छ–
आइतवारः राजा फर्काउने र्याली, नाराको वर्षा र भावनाको झरी ।
सोमवारः कोअपरेटिभ, लघुवित्त, किसान वा मजदूरहरूका मेला ।
मंगलवारः डाक्टरहरूको दर्शनीय नांगो जीउ प्रदर्शन ।
बुधवारः यातायातवालाहरूको ट्राफिक‚ कथा वाचन– ‘गाडी रोकौं, गीत बजाऔं’ संस्करण ।
बिहीवारः शिक्षक संघको शैक्षिक भेला, नृत्य र नाराको मेला ।
शुक्रवारः स्वतन्त्र नागरिकहरूको सेल्फी प्रोटेस्ट ।
शनिवारः ‘हिम्मत हार्ने दिन’– शरीरले विश्राम मागेपछि त प्रदर्शनलाई पनि छुट्टी चाहिन्छ नि !
अब त यो चोकको नाम नै फेर्नुपर्ने बेला आएको छ– ‘माइतीघर राष्ट्रिय खुला विश्वविद्यालय, प्रदर्शन तथा प्लेकार्ड विज्ञान संकाय’ राख्नुपर्छ । अझ एउटा ‘डिजिटल टाइमटेबल’ राखियो भने, शायद मानिसहरू आफ्ना माग बुकिङ गरेर आउन थाल्लान् । हेर्दा लाग्छ, हप्ता दिनको भागबण्डाले पुग्ला जस्तो छैन । एक वर्षकै रुटिन राख्नुपर्ला जस्तो छ । बरु अनलाइन बुकिङको लागि एउटा एप नै बनाउनुपर्ला । कुन दिन कुन भेला जान्न बरु सरकारले नै वान विण्डो बनााइदिए हुने । भन्सारतिर फेल भएको वान विण्डो प्रणाली जुलुसको संसारमा लागू गरे भने सेलैसेल पाक्ने निश्चित छ । जस्तै– दोस्रो मंगलवार, मध्याह्न १२ बजे, कोठा भाडा बढाऊ समूह । तेस्रो सोमवार १ बजे, नांगै हिँड्न पाउनुपर्छ भन्ने चेलीहरूको प्रदर्शन ।
हो, माइतीघरमा विहानैदेखि लाग्छ ‘मेला’ । तर यो माघे संक्रान्तिको मेला, भीमेश्वर, गोकर्ण वा पनौतीको बाह्रवर्षे मेला होइन । यो त बाह्रै महीनाजस्तो चल्ने प्लेकार्ड, माइक्रोफोन र सार्वजनिक रिस पोख्ने र सर्वसाधारणलाई रोक्ने वा ठोक्ने मेला हो ।
शुरुआत यस्तो हुन्छ– तपाईं बिहानै नास्ता खान थाल्नुहुन्छ, उता रेडियामा समाचार गुञ्जिरहेको हुन्छ, ‘आज माइतीघरमा राप्रपाको प्रदर्शन ।’ माने राजा फर्काऊ समूहको ग्रान्ड फिनाले । झण्डा फर्फराउने, दौरा–सुरुवाल झल्मलाउने र कालो टोपीको टापटिप । अनि ब्याकअपमा उही पुरानो स्क्रिप्ट– राजा आऊ, देश बचाऊ ।
भर्खर एउटा नारा सकिन नपाउँदै, दोस्रो शुरू हुन्छ, पैसा गयो, पीडा बाँकी अभियान । सहकारी, लघुवित्त, उखु किसान, सुकुमबासी सबै आएर सरकारलाई ब्युँझाउन खोज्छन् र माइक कराउन थाल्छ– ओइ सरकार ओइ, हाम्रो पैसा खोइ ?
फेरि अर्को दिन, काम छोडेर हस्पिटलका ‘हिरोहरू’ अर्थात् डाक्टरहरू निस्कन्छन् । चप्पल, कोट र प्लेकार्डमा सजिएर, स्टेथोस्कोपको साटो ‘सत्ता–स्कोप’ बोकेर । सरकारी डाक्टरहरू सरह न्यूनतम तलब भत्ताको मागसहित । उनीहरू न कुनै अपरेशन थिएटरमा, न इमर्जेन्सी वार्डमा । उनीहरू त सडकमा आएर भनिरहेका हुन्छन्, ‘हामी तपाईंहरूको ज्यान बचाउँछौं, हाम्रो ज्यान चैं कसले बचाउँछ त ?’
अनि आउँछ सार्वजनिक यातायात व्यवसायीको वा माइक्रो बसवालाको पालो । सवारीसाधन सडकमै रोकेर, माइक झोसेर भन्छन् कि ‘भाडा बढाऊ, नत्र पेट्रोलको मूल्य घटाऊ । राइड शेयरिङ खारेज गर, सवारी व्यवस्थित गर्ने नियमहरू ल्याउने जिद्दी नै नगर ।’ यस्तो भन्दै धम्क्याउँछन् ।
हैन नेपाली जनताले कस्तो व्यवस्था खोजेका होलान् ? आफैले आन्दोलन गरेर बहुदलीय व्यवस्था ल्याए तर दलकै कुरा काटेर दिन बिताउँछन्, जसलाई भोट हालेर जिताए तिनै सांसद्को सत्तोसराप गर्छन् । कर्मचारीलाई राष्ट्रसेवक भन्छन्, तर तिनलाई भक्षकमात्रै देख्छन् । आफूले सोचेजस्तो फैसला आएन भने अदालतमाथि औंला उठाउँछन् । चौथो अंग भनेर बिल्ला चैं भिराउँछन्, तर मूलधारका मिडियामाथि रत्ति विश्वास गर्दैनन् । यसरी राज्यका कुनै पनि अंग र अवयवमाथि विश्वासै गर्दैनन् । हैन नेपाली जनताले खोजेको र विश्वास गरेको व्यवस्था चाहिं के हो ? सधैं सबै कुराका विरोधमा प्रदर्शन मात्र गरिहिँड्छन् ।
अब त कुनै दिन जुलुस वा प्रदर्शन भएन भने सर्वसाधारणलाई पनि शंका लाग्न थालेको छ– ‘आज के भएछ हँ ? आज किन जुलुस आएन ? कसैको पालो पो छुट्यो कि ?’
यी सबै प्रदर्शनहरू हेर्दा लाग्छ, यो देश मागभन्दा बढी भाग माग्ने होडमा छ, कोही न्याय खोज्दै छन्, कोही मान सम्मान त कोही नयाँ संविधान । यो राष्ट्रिय आपत्काल हो । नेपाल आमा रोइरहेकी छिन् र अनुनय विनय गरेर भनिरहेकी छिन्‚ ‘मलाई पैसा होइन, न्याय चाहिएको छ ।’ तर सुन्ने कोही छैन । किनकि, सबै आआफ्नै माइकको धुनमा व्यस्त छन् ।
अनि फेरि न्याय पनि कसले दिने ? न्याय दिनुपर्नेहरू कतिपय आफै अन्यायमा परेको भनिरहेका छन् । हिजो गोली ठोक्न आदेश दिनेहरू अहिले पुलिसको झ्याइँकुटीमा परेका छन् । अनि न्याय दिने संस्था आफै पनि कतिपय अवस्थामा के गरौं, के नगरौं भन्ने स्थितिमा देखिन्छ । माइतीघरमा जुलुस देखेपछि बल्ल सम्बन्धितहरूलाई लाग्दो हो, ‘ओहो, देशमा यस्तो पनि मुद्दा रहेछ त ।’
यता सरकार भने ‘ब्लुटुथ’ अर्थात् कानफुके जस्तो कहिले कनेक्ट हुन्छ, कहिले डिस्कनेक्ट । किनकि उसलाई नयाँ ठेक्का मिलाउनु छ, कहाँ कहाँ नयाँ नियुक्ति दिलाउनु छ । अरू कुराहरूबारे सोच्ने फुर्सद कहाँ छ र ?
भलै सरकार त सरकार हो । सरकार आफ्नै सरोकारका हिसाबले त सधैं ‘अलर्ट’मा छ । दिनहुँ विहान समाचार हेर्छ– आज कसको र्याली छ भनेर । अनि सुत्छ । सरकार त सधैं प्रदर्शनलाई ‘म्युट’ गर्न, हरेक नारालाई ‘ब्लक’ गर्न अनि भिडलाई ‘अनसब्स्क्राइब’ गर्न चाहन्छ । नागरिक गुनासो गर्छ, सरकार त सुन्दैन, भन्छ त्यो माइक त हाम्रो पार्टीको होइन नि ।
यसरी माइतीघरमा प्रदर्शनहरूको शृंखला चलिरहन्छ । आज राजा ल्याउनेहरू, भोलि पैसा पीडितहरू, पर्सि डाक्टर, उर्सि यातायात सञ्चालकहरू, अनि त्यसपछिका दिनमा पत्रकार, कलाकार, शिक्षक, विद्यार्थी... सबैको पालो आउँछ । ‘माइतीघरको सर्कस’ बन्द कहाँ हुन्छ र ? तर, जसको संगठन छैन, जसको पार्टी छैन, जसको बलियो आधार छैन त्यसलाई माइतीघरले चिन्दैन, सरकारले गन्दैन, पत्रिकाले पनि समाचार भन्दैन । त्यस्ता प्रदर्शनकारी कि मामाघरमा सड्छन् कि त पासोमा चढ्छन् ।
देश प्रसव पीडामा छ । तर डेलिभरीमा ढिलाइ भइरहेको छ । हामीलाई थाहा छ जुलुसले जुलुसवालाका ठालु बाहेक अरूको तालुमा केही फल्नेवाला छैन । त्यो थाहा हुँदाहुँदै पनि हरेक दिन हामी सोध्न बाध्य छौं– आज जुलुस निकाल्ने पालो कसको हँ ?