काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ ।
समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कडरीया र डा.यज्ञ गजाधर खड्का सदस्य छन् ।
उच्चस्तरीय समितिका पदाधिकारीहरूलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्षरूपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा व्यक्त गरे । समितिलाई ९० दिनको कार्यअवधि दिइएको छ ।
नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक नदेखिएकाले उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
विगतमा भएका अध्ययनहरूमा पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिइएका थियो । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषदको हालै बसेको बैठकले स्वीकृति दिएको थियो ।
उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्तर्गतका ऐन, नियम, नीतिलगायत कानुनी दस्तावेज तथा प्रतिवेदनहरूको समीक्षा गर्ने, अन्य देशहरूमा यस सम्बन्धी भए गरेका असल अभ्यासहरूको अध्ययन गर्ने, संघीयताको भावना र मर्म अनुरूप समयसापेक्ष रूपमा नार्कलाई रूपान्तरण गर्न, वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने, रणनीति प्रस्ताव गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ ।