काठमाडौँ । नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । सुपर–३ को शीर्ष २ मा रहँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ ।
ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन् । उक्त प्रतियोगितामा शीर्ष ४ मा रहने टोलीले सन् २०२६ मा इङ्ग्ल्याण्डमा हुने आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन् ।
थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो । ११५ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् । यसैगरी रुविना क्षेत्रीले २३ रन, सम्झना खड्काले २१ रन, पूजा महतोले १३ रन, राजमती ऐरीले ८ रन र रुवि पोदारले अविजित ६ रन बनाइन् ।
बलिङतर्फ यूएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले १/१ विकेट लिए ।
यसअघि यूएईका लागि ११४ रन बनाउने क्रममा कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्थ सतिशले २१ रन, हिना हाटचन्दानीले २० रन र लावन्या केनीले १२ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले ४, कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए । यसअघि सुपर–३ को पहिलो खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ । अब नेपालले सुपर–३ को अन्तिम खेल मङ्गलवार थाइल्याण्डसँग खेल्नेछ । रासस