काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्काे मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र अन्य ३ जनाविरुद्ध सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त मुद्दामा पौडेलसँगै केन्द्रका तत्कालीन सहायक निर्देशक पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत नीमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि र त्यसका सीईओ अकबर हुसेनलाई विपक्षी बनाइएको छ । उक्त मुद्दामा पौडेल र वलीविरुद्ध जनही ५ करोड ७९ लाख रुपैयाँ बिगो दाबी माग गरिएको छ । यस्तै, पोख्रेल, र गायकविरुद्ध ५ करोड ७९ लाख रुपैयाँ र म्याक्स इन्टरनेशनल प्रालि र त्यसका सीईओ हुसेनविरुद्ध पनि सोही रकमको बिगो दाबी माग गरिएको छ
पौडेल निर्देशक रहेको समयमा आर्थिक वर्ष ०७५/७६ मा केन्द्रले खरीद गरिएको उपकरणमा हिनामिना गरेको देखिएको अख्तियारको ठहर छ ।
अनुसन्धानका क्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेश भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले सन् २०७६ असार ४ मा उक्त केन्द्रमा पेश गरेको भ्याटबाहेक २ करोड ६५ लाख र अर्को शीर्षकमा भ्याट बाहेक ३ करोड १४ लाख रकम म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको, मिलेमतोमा स्वार्थ बाझिने गरी लागत अनुमान तयार गरेको, सम्झौता बमोजिमको कार्य नै नभएको अवस्थामा समेत कार्य भएको भनी रकम भुक्तानी दिए र लिएको भेटिएको अख्तियारले जनाएको छ ।
पौडेलविरुद्ध गत माघमा विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दा भने विचाराधीन अवस्थामा छ ।
आर्थिक वर्ष २०७४/७५ मा आह्वान गरिएको बोलपत्रको खरीदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।