काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणका लागि शुक्रवारदेखि जारी गरेको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । जेठ २७ गते साँझसम्म ४ लाख ८ हजार ४९३ जना आवेदकबाट ४५ लाख ४४ हजार ८६० कित्ता शेयर खरीद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ ।
कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत ३५ लाख २५ हजार ९३० कित्ता शेयर विक्रीमा ल्याएको हो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले वैशाख ३१ देखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता आईपीओ विक्री गरी जेठ २४ गते बाँडफाँट गरेको थियो ।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । कम्पनीले प्रतिlकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर विक्री गर्न अनुमति पाएसँगै कम्पनीले कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर विक्री गरेको थियो ।
कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ ।
मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको यो आईपीओ जेठ ३० गतेसम्म मात्र विक्रीमा रहनेछ ।
यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
कम्पनीले २०६६ वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन गर्न शुरू गरेको हो । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ५३ करोड २२ लाख रहेको छ । कुल शेयर पूँजीमा संस्थापकतर्फको ५५ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।