काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबार थालेयताका सातै कारोबार दिन सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ठूला १० कम्पनीभित्र सर्वोत्तम सिमेन्टको 'इन्ट्री' भएको छ ।
बिहीवार यस कम्पनीको बजार पूँजीकरण रू. ५० अर्ब ३४ करोड ५५ लाख पुगेको छ । नेप्सेको कुल बजार पूँजीकरणमा यो कम्पनीको हिस्सा भने १.५६ प्रतिशत मात्रै छ ।
कम्पनीको आईपीओमा ५० कित्ता प्राप्त गरेका लगानीकर्ताले बिहीवारसम्म २०० प्रतिशत रिटर्न अर्थात् ३६ हजार ९० रुपैयाँ नाफा भएको छ । आईपीओमा आवेदन दिँदा लगानीकर्ताले १८ हजार ४५ रुपैयाँ खर्च भएको थियो ।
कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता रू. ३६० रुपैयाँ ९० पैसामा आईपीओ निष्कासन गरेको थियो ।
बजार पूँजीकरणका हिसाबले नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । यो कम्पनीको बजार पूँजीकरण १ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ छ । नेप्सेको कुल बजार पूँजीकरणमा नेपाल टेलिकमको हिस्सा ४.७७ प्रतिशत छ ।