काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शहरी विकास मन्त्रालयअन्तर्गतको ठूलो बजेट विभिन्न नेताका नाममा स्मृति भवन बनाउन व्यापक रूपमा छरिएको पाइएको छ ।
स्वर्गीय गणेशमान सिंहका पुत्र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाबुको नाममा बन्ने स्मृति भवनहरूका लागि मन्त्रालयबाट करोडौं बजेट छुट्ट्याएका छन् । उनले शहरी विकास मन्त्रालयबाट गणेशमान सिंह मात्रै नभई सुशील कोइराला, बिपी कोइरालाका नाममा स्मृति भवनदेखि पार्क र सडक बनाउन करोडौं बजेट छुट्ट्याएका छन् । मन्त्री सिंह गणेशमान सिंह फाउन्डेशनका अध्यक्षसमेत हुन् ।
उनले कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भवन बनाउन पनि बजेट दिएका छन् । यसरी बजेट दिएकोमा तरुण दलले मन्त्री सिंह र पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद ज्ञापन गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले हालै वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद भनेका छन् ।
आगामी वर्षका लागि १ खर्ब १८ अर्ब रुपैयाँ बजेट पाएको शहरी विकास मन्त्रालयले ३५ करोड रुपैयाँभन्दा बढी रकम पार्टी कार्यालय निर्माणका लागि छुट्ट्याएको छ । उपप्रधानमन्त्रीसमेत रहेका सिंहले काठमाडौं–१३ मा गणेशमान सिंह स्मृति भवनको नाममा पार्टी कार्यालय र पोखरामा गणेशमान सिंह स्मृति भवन बनाउन ३–३ करोड छुट्ट्याएका छन् ।
पोखरामा गणेशमान सिंह प्रदेश भवन भनेर कांग्रेसको गण्डकी प्रदेश कार्यालय बनाउन रकम विनियोजन गरिएको छ । सुर्खेतको चौकुनेमा १ करोड, सिन्धुपाल्चोकको इन्द्रावती–३ मा ४० लाख, सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढीमा ७० लाख, बझाङको जयपृथ्वी नगरपालिकामा ४० लाख रुपैयाँ छुट्ट्याएका छन् । यी सबै बजेट गणेशमान सिंह स्मृति भवन निर्माणका लागि भनेर छुट्ट्याइएको हो ।
उपप्रधानमन्त्री सिंहले बिपी कोइरालाको नाममा पनि रकम छुट्ट्याएका छन् । तनहुँको भानुमा ३ करोड तथा जनकपुर, बागलुङ, नवलपरासी, मोरङ, प्युठान, लमजुङलगायत जिल्लामा बिपी स्मृति भवन बनाउन ७०/७० लाख रुपैयाँ प्रकाशमानले शहरी विकास मन्त्रालयको बजेटबाट छुट्ट्याएका छन् । बिपी स्मृति भवन बनाउन हुम्लामा ४० लाख र कालीकोटमा ५० लाख रुपैयाँ छुट्ट्याएका छन् । अर्घाखाँची र अछाममा बिपी स्मृति भवन परिसरमा पूर्वाधार बनाउने नाममा २५/२५ लाख रुपैयाँ छुट्ट्याएका छन् ।
आव २०८२/८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत शहरी विकास मन्त्रालयको शीर्षकगत बजेट हेर्दा मन्त्री सिंहले सुशील कोइरालाको नाममा समेत ठूलो रकम बाँडेको देखिन्छ । उनले सुशील कोइराला प्रतिष्ठानका लागि ३ करोड छुट्ट्याएका छन् । मोरङको विराटनगरमा सुशील कोइराला स्मृति भवनका लागि १ करोड ९९ लाख रुपैयाँभन्दा बढी बजेट मन्त्री सिंहले छुट्ट्याएका छन् भने धनुषामा महेन्द्रनारायण स्मृति भवनका लागि १ करोड ६० लाख विनियोजन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापामा गणेशमान मार्ग—तुल्सी चोक हुँदै किरात चोकसम्मको बाटो बनाउन प्रकाशमानले २५ लाख छुट्ट्याएका छन् ।
शहरी विकास मन्त्रालयले आगामी वर्षका लागि ९१ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको थियो । त्यसमा २७ अर्ब बढाएर १ खर्ब १८ अर्ब बजेट ल्याउँदै नेताको नामका प्रतिष्ठानका लागि उनले ठूलो रकम बाँडेको देखिएको छ ।
पूर्वअर्थमन्त्री वर्षमान पुन सिलिङ बढाएर यसरी जथाभावी बजेट ल्याइनु स्वाभाविक नभएको बताउँछन् । ‘सिलिङभन्दा २७ अर्ब रुपैयाँ बढी बजेट दिनुको कारण के हो ? खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको आशंका छ,’ उनले भने ।
पुनका अनुसार अर्थमन्त्री विष्णु पौडेलले ३ करोडभन्दा कम बजेट विनियोजन नभएको दाबी गरिरहे पनि सांसदहरूलाई उपलब्ध गराइएको रातो किताबमा शहरी विकास मन्त्रालयअन्तर्गत १ लाखदेखि ५ लाखसम्मका योजनामा रकम विनियोजन गरेको भेटिएको छ । ‘शहरी विकासमन्त्रीले नै अनौपचारिक रूपमा २५ लाखसम्मका योजना रहेको स्वीकार गर्नुभएको छ । तर, रातो किताबको डिजिटल कपीमा १ लाखदेखि ५ लाख रुपैयाँसम्मका योजना बग्रेल्ती भेटिएका छन्,’ पुनले भने । ‘सरकारले भन्ने एउटा गर्ने अर्को गरेको छ ।’ उनका अनुसार बजेटमा सरकारले बठ्याइँ गरेको छ । यसमा सदनमा जवाफ मागिने उनले बताए ।
शहरी विकासमन्त्री सिंहले भने विधि र प्रक्रियाअनुसारै बजेट छुट्ट्याएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीलाई बजेट नछुट्ट्याएको दाबी गरे । ‘बजेटमा स्मृति भवन निर्माणका लागि बजेटको व्यवस्था गरिएको हो । कुनै पार्टीलाई छुट्ट्याएको होइन । हाम्रो मन्त्रालयमा जुन डकुमेन्ट छ । डकुमेन्टअनुसार बजेट व्यवस्था गरेका छौं । विधि प्रकिया पूरा गरेका छौं । बजेटको दुरुपयोग गरेको छैन,’ उनले सोमवार संसद्बाहिर पत्रकारहरूसँगको कुराकानीका क्रममा भने ।
तरुण दलको कार्यालय भवन बनाउन बजेट दिएकोप्रति सत्ता साझेदार नेकपा (एमाले) पनि सन्तुष्ट छैन । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले त्यसरी शहरी विकासमन्त्री प्रकाशमान सिंहले बजेट विनियोजन गरेर दलगत लाभ लिँदा शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न उठ्ने बताएका छन् । बस्नेतले हालै आफ्नो फेसबुक पेजमा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई शासकीय मर्यादाको यो हदको उल्लंघनले सरकारकै नैतिकतालाई खोक्रो बनाउने बताएका छन् ।
‘शहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन भएछ । राज्य कोषबाट जनताको पसिनाको कर उठाएर यसरी खुलेआम दलगत लाभ बाँड्ने हो भने शासन प्रणाली र दलहरूमाथि समेत गम्भीर प्रश्न उठ्छ,’ नेता बस्नेतले लेखेका छन् ।