काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक १ दशमलव शून्य १ प्रतिशत प्रतिशतले बढेर बन्द भएको छ । अंकको हिसाबमा अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक २७ दशमलव १४ अंक बढेर २ हजार ६८९ दशमलव २२ विन्दुमा बन्द भएको हो ।
आज नेप्से २ हजार ७०४ दशमलव ५८ विन्दुसम्म पुगेको थियो भने २ हजार ६६९ दशमलव २२ विन्दुसम्म झरेको थियो । यो दिन २१२ धितोपत्रको मूल्य बढेको छ भने ३४ धितोपत्रको मूल्य मात्र घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशत बढेको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको ९ दशमलव ९९ प्रतिशत र क्रेस्ट माइक्रो इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ ।
यो दिन बलेफी हाइड्रोपावरको शेयर मूल्य भने ९ दशमलव ६९ प्रतिशत घटेको छ । प्रतिकित्ता २४ रुपैयाँ ७४ पैसाले घटेर बलेफी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २३० रुपैयाँ ४६ पैसा कायम भएको छ । सर्वाधिक मूल्य घटेको यस कम्पनीको यो दिन सर्वाधिक रकमको कारोबार भएको छ । कम्पनीको २ अर्ब १ करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
मंगलवार ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको २ करोड १८ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । २०८२ साललाई लगानीकर्ताले धितोपत्र दोस्रो बजारको सकारात्मक वर्षको रुपमा हेरेका छन् ।
मंगलवार शेयर बजारको कारोबारका आधारमा लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ति आकृति बनेको छ । यसले भोलिको दिनमा पनि बजार बढ्ने संकेत गर्छ । वर्षको पहिलो कारोबार दिन सकारात्मक बनेको बजारले यो वर्ष सन्तुष्टि प्रदान गर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।
मंगलवार व्यापारिक र म्युचुअल फण्डको परिसूचक घटेका छन् भने बाँकी समूहको बढेका छन् । व्यापारिक समूहको शून्य दशमलव ६४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक घटेको हो । यो दिन लगानी समूहको सबैभन्दा बढी २ दशमलव ७१ प्रतिशत र विकास बैंकको २ दशमलव ४६ प्रतिशत परिसूचक बढेको छ । त्यस्तै होटल तथा पर्यटनको १ दशमलव ९९ प्रतिशत, वित्तको १ दशमलव ५९ प्रतिशत, जलविद्युतको १ दशमलव ४७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २२ प्रतिशत, निर्र्जीवन बीमाको १ दशमलव शून्य ७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८१ प्रतिशत, अन्यको शून्य दशमलव ६१ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६० प्रतिशत र बैंकिङको शून्य दशमलव ४८ प्रतिशत परिसूचक बढेको छ ।
मंगलवार एकैदिन कुल बजार पूँजीकरण ४५ अर्ब ११ करोड ८३ लाख रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन ४४ खर्ब २५ अर्ब ४० करोड १० लाख रुपैयाँ रहेको कम्पनीको कुल बजार पूँजीकरण मंगलवार ४४ खर्ब ७० अर्ब ५१ करोड ९३ लाख रुपैयाँ कायम भएको हो ।