काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लागि लाभांश प्रस्ताव गरेको छ । वैशाख १७ गते साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल बीमा प्राधिकरणको स्वीकृति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । गत वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष पोहोरभन्दा थोरै लाभांश वितरण गर्न लागेको हो ।