काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि निष्कासनमा ल्याएको पहिलो चरणको आईपीओ वैशाख १९ गते आजसम्म मात्र निष्कासनमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशतले हुने ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख १९ गतेसम्म निष्कासन अवधि तय गरेको कम्पनीले स्थानीयमा भने छिटो अवधि वैशाख १९ गते र ढिलो अवधि जेठ ३ गते तोकेको थियो । मागभन्दा बढी आवेदन परेकाले स्थानीयमा समेत वैशाख १९ गतेसम्म मात्र आईपीओ निष्कासन गर्न लागिएको हो ।
स्थानीयमा जारी हुने आईपीओ ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरू) माईजोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरू तथा नयाँबजार गा.वि.स.को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरूका) बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । दुवैतर्फका खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले ७ दशमलव ६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको छ भने ५ दशमलव २ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । यो कम्पनी सञ्चित नाफामा सञ्चालन छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १० करोड ३८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा छ ।