इस्लामावाद (पाकिस्तान) । पाकिस्तानमा नयाँ सरकार गठनका लागि नवाज शरीफको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) र बिलावल भुट्टोको पाकिस्तान पीपल्स पार्टी (पीपीपी)बीच सहमति बनेको छ ।
पीएमएल–एन र पीपीपीबीच प्रारम्भिक सहमतिको ६ दिनपछि मंगलवार पत्रकार सम्मेलनमार्फत दुवै दलले नयाँ सरकार गठनका लागि सम्झौताको घोषणा गरेका हुन् ।
नयाँ सरकार गठनका लागि यी दुई दलबीच सहमति भए पनि हालै सम्पन्न निर्वाचनमा यी पार्टीले जितेको सिटभन्दा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इंसाफ (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूको सिट बढी छ ।
पत्रकार सम्मेलनमा पीपीपीका अध्यक्ष बिलावल भुट्टोले भने, ‘गठबन्धनको उद्देश्य देशको आर्थिक संकट समाधान गर्नु हो ।’
पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा पीएमएल–एनका अध्यक्ष शहबाज शरीफले देशको आर्थिक तथा अन्य चुनौती सामना गर्नका लागि साझा प्रयास गरिने बताए ।
दुवै पार्टीबीच भएको सम्झौता अनुसार पीएमएल–एनका अध्यक्ष शरीफ प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् । प्रधानमन्त्री चयनका लागि फेब्रुअरी अन्तिममा संसदमा चुनाव हुनेछ । यस्तै, पीपीपीका नेता आसिफ अली जरदारी उक्त गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार हुनेछन् ।
पीटीआईले भने उक्त गठबन्धनलाई ‘जनमतको लुटेरा’को संज्ञा दिएको छ । पार्टीलाई सत्ताबाहिर राख्न चुनावमा धाँधली भएको र जनमतमा धोका भएको पीटीआईको आरोप छ ।