काठमाडौं । अमेरिका र चीनबीच रेअर अर्थको निर्यात प्रक्रिया तीव्र पार्ने सम्झौता भएको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले बिहीवार यसबारे जानकारी दिँदै विश्वका दुई विशाल अर्थतन्त्रबीच उत्पन्न व्यापार गतिरोध अन्त्य गर्ने निरन्तरका प्रयासहरूमाझ यो सम्झौता भएको बताएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार चीनसँग प्रारम्भिक व्यापार सम्झौता भएको बताएका थिए । उनले सम्झौताबारे विस्तृत विवरण दिएनन् तर भारतसँग समेत निकट भविष्यमा व्यापार सम्झौता हुनसक्ने बताएका थिए ।
गत मे महीनामा जेनेभामा भएको अमेरिका–चीन व्यापार वार्ताका क्रममा चीनले यसै वर्ष अप्रिल २ पछि अमेरिकासँगको व्यापारमा लगाएका गैर-भन्सार प्रतिबन्धहरू हटाउने प्रतिबद्धता जनाएको थियो । तर चीनले लगाएका ती प्रतिबन्धहरू फिर्ता लिने प्रक्रियाबारे स्पष्ट थिएन ।
अमेरिकाले चिनियाँ वस्तुको आयातमा लगाएको भन्सार महशुलको प्रतिउत्तरमा चीनले पनि रेअर अर्थलगायत महत्त्वपूर्ण वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसबाट विश्वभरकै अटोमोबाइल, एयरोस्पेस, सेमीकन्डक्टर र सामरिक सामग्री उत्पादक कम्पनीहरू प्रभावित भएको थियो ।
“अमेरिका र चीनबीच जेनेभा सम्झौताअनुसार कार्यान्वयनको रुपरेखा तय गर्न थप समझदारी भएको छ‚” अमेरिकी राष्ट्रपति कार्यालयका ती अधिकारीले बिहीवार भने‚ “जसअन्तर्गत अमेरिकालाई फेरि रेअर अर्थ आपूर्ति गर्ने प्रक्रिया कसरी तीव्र बनाउने भन्ने हो ।”
अर्का अमेरिकी अधिकारीले अमेरिका-चीनबीच यो सम्झौता यसै साताको शुरुमा भएको बताए । अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले ब्लूमबर्गसँग भने, “चीनले हामीलाई रेअर अर्थ आपूर्ति गर्नेछन् र त्यसपछि हामीले पनि अमेरिकी प्रतिबन्धहरू हटाउनेछौं ।”
चीनको वाणिज्य मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै दुवै देशले जेनेभा व्यापार वार्तामा भएको सहमति कार्यान्वयन गर्ने फ्रेमवर्कमा सहमति भएको जनाएको छ । मन्त्रालयले रेअर अर्थको उल्लेख नगरी घुमाउरो भाषामा सीमित परिमाणमा निर्यात भइरहेका वस्तुहरूको निर्यात अनुमति कानूनअनुसार नै दिइने बतायो ।
अमेरिका-चीनबीच भएको प्रारम्भिक समझदारीले राष्ट्रपति ट्रम्पले सरकारको नेतृत्त्व सम्हालेपछि उत्पन्न व्यापारिक अन्योल र अवरोधबीच थोरै प्रगतिको संकेत गरे पनि दुवै देशबीच स्थायी व्यापार सम्झौता हुने सम्भावना अझै टाढै रहेको विश्लेषकहरू बताउँछन् ।
एउटा स्रोतलाई उल्लेख गर्दै रोयटर्सले रेअर अर्थलगायत खनिजका अमेरिकी क्रेताहरूको पृष्ठभूमिको सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ । चीनले रेअर अर्थको उपयोग सामरिक उत्पादनमा हुन नदिन क्रेताहरूको पृष्ठभूमि अध्ययन गरिरहेकाले निर्यातको स्वीकृति दिन ढिलाई भएको बताइएको छ।