logo
फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट : वर्ल्डलिंक र नेपाल टेलिकम बजार हिस्सा बढाउन आक्रामक
फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट : वर्ल्डलिंक र नेपाल टेलिकम बजार हिस्सा बढाउन आक्रामक
६ माघ २०८१

काठमाडौं । लामो समयदेखि फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा सबैभन्दा धेरै बजार हिस्सा ओगट्दै आएको वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्नो बजार हिस्सा विगत १ वर्षमा थप बलियो बनाएको छ । 

बहुमत शेयर सरकारको रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले पनि फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा आफ्नो बजार हिस्सा उल्लेखनीय रूपमा बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत मङ्सिर मसान्तसम्ममा वर्ल्डलिंकको ग्राहक संख्या ९ लाख ५२ हजार १४७ पुगेको छ । ब्रोडब्यान्ड इन्टरनेटको कुल ग्राहक संख्यामा वर्ल्डलिंकको हिस्सा ३१ दशमलव ८८ प्रतिशत छ । वर्ल्डलिंकको बजार हिस्सा गतवर्ष मङ्सिरको तुलनामा ४ दशमलव २१ प्रतिशत बिन्दुले बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ । वर्ल्डलिंकले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ वैदेशिक लगानी पनि भित्त्याएको कम्पनीका एक अधिकारीले बताए । 

सन् २०१९ को अक्टोवरमा वर्ल्डलिंक कम्युनिकेशन्समा बेलायतको विकास वित्त संस्था सीडीसी ग्रूपले १ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको थियो । सिडसी ग्रुप पछि सन् २०२२ मा ब्रिटिश ईन्टरनेशनल ईन्भेष्टमेन्टमा परिवर्तन भयो । त्यसैगरी सन् २०२३ को मार्चमा ब्रिटिश इन्टरनेशल ईन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले सँयुक्त रुपमा १ अर्व ९८ करोड रुपैयाँ वरावरको लगानी यो कम्पनीमा गरेका थिए । फेरि गत मंशीर महिनामा फिनल्याण्डका विकास वित्त निकाय फिनफण्डले पनि वल्र्डलिंकमा १ करोड युरो (१ अर्व ४३ करोड रुपैयाँ) ईक्विटी लगानी गर्न कम्पनीसँग सम्झौता गरेको थियो ।  ‘प्राप्त विदेशी लगानीबाट वर्ल्डलिंकले देशका अतिविकट गाउँमा उच्चस्तरीय इन्टरनेट पुर्‍याउँदै छ,’ वर्ल्डलिंकका ती अधिकारीले भने । 

गतवर्ष मङ्सिरमा ८ दशमलव ९४ प्रतिशत बजार हिस्सासहित छैटौं स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) यो मङ्सिरमा दोस्रो नम्बरमा उक्लिएको छ । टेलिकमका ग्राहक ३ लाख ४७ हजार ३७५ छन् । उसले बजार हिस्सा ११ दशमलव ६३ प्रतिशत ओगटेको छ । गत मङ्सिरको तुलनामा टेलिकमले २ दशमलव ६९ प्रतिशत बिन्दुले बजार हिस्सा बढाएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले तुलनात्मक सस्तो इन्टरनेट सेवाको प्याकेजका कारण आफ्नो कम्पनीको बजार हिस्सा बढ्न गएको बताए । 

बजार हिस्साको हिसाबले डिस मिडिया नेटवर्क तेस्रो नम्बरमा पर्छ । उसको कुल ग्राहक संख्या यस अवधिमा ३ लाख ३४ हजार १२६ छ । यसको बजार हिस्सा ११ दशमलव १९ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । डिस मिडियाले गतवर्ष मङ्सिरको तुलनामा बजार हिस्सा सामान्य बढाए पनि नेपाल टेलिकमले उल्लेखनीय मात्रामा बढाएका कारण डिस मिडिया तेस्रो नम्बरमा झरेको हो । गत मङ्सिरयता सुबिसु, वेबसर्फर, सिजी, वाइफाई नेपाललगायतले बजार हिस्सा बढाउँदै लगेको देखिन्छ । क्लासिक टेक, भायनेट, टेकमाइन्स, ब्रोडलिंक नेटवर्कलगायतको बजार हिस्सा पोहोर मङ्सिरको तुलनामा घटेको प्राधिकरणले बताएको छ । गत मङ्सिरको तुलनामा क्लासिकटेकको बजार हिस्सा ३ दशमलव ८९ प्रतिशत, भायनेटको २ दशमलव ६ प्रतिशत, टेकमाइन्सको २ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । 

‘शुरूशुरूमा सस्तो स्किम ल्याएर बजारमा आउने पछिबाट ग्राहकको माग सम्बोधन गर्न चुक्दै जाँदा पनि ग्राहक घटेको हुन सक्छ,’ दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीले भने । उनका अनुसार यी कम्पनीले लगानी बढाउन चासो नदिनु, प्याकेजहरू महँगो बनाउनु र ग्राहकको गुनासो समयमै सम्बोधन गर्न बेवास्ता गर्नुले पनि बजार हिस्सा घट्दै गएको हुन सक्छ ।’
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.