ऊर्जा मन्त्रालयले खिम्ती–ढल्केबर प्रसारण लाइनको अवरुद्ध निर्माण कार्य अगाडि बढाउनका लागि आवश्यक सुरक्षाको माग गर्दै गृहमा पत्र पठाएको छ । स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाको काम अवरुद्ध भएपछि ऊर्जा मन्त्रालयले एक हप्ताअघि सुरक्षाको माग गर्दै गृहमा पत्र पठाएको हो । ‘सुरक्षाकर्मी परिचालन गरेरै भए पनि आयोजनाको काम सकाउने तयारीमा छौं,’ ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले अभियानसँग भने ।
गृह मन्त्रालयले आयोजना निर्माण कार्य अगाडि बढाउनका लागि आवश्यक सुरक्षा व्यवस्था गरिसकेको गृह मन्त्रालयका एक उच्च कर्मचारीले बताए । ‘डिसेम्बरभित्र सक्नुपर्ने बाध्यात्मक स्थिति छ,’ नेपाल विद्युत् प्राधिकरण २ सय २० केभी प्रसारण लाइनका निर्देशक कन्हैयाकुमार मानन्धरले भने, ‘सन् २०१२ भित्र सकिएन भने विश्व बैंकको सहयोग रकम पनि कोल्याप्स हुनेछ ।’
विश्व बैंकको कुल ६८ करोड ८९ लाख रुपैयाँको ऋण सहयोगमा सो प्रसारण लाइनको निर्माण कार्य शुरू गरिएको हो ।
वर्ष ७, अंक ३४२, शुक्रवार ८ भदौ, २०६९