logo
शेयरबजारमा भित्री कारोबार प्रकरण : ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर हुँदै
शेयरबजारमा भित्री कारोबार प्रकरण : ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर हुँदै
२१ भाद्र २०८१

काठमाडौं । सरकारले शेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को आरोप लागेका एक जना ठूला शेयर लगानीकर्तामाथि करोडौं रुपैयाँको बिगो दाबी गरी सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी गरेको छ । शेयरको भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डबाट कारबाहीमा परेका ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानलाई धितोपत्र बोर्डले ७५ हजार रुपैयाँ जरीवाना गर्दै १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक बन्न रोक लगाउँदै अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई भनेको थियो । 

सोहीअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सकेर जिल्ला न्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको छ । विभागका महानिर्देशक सुमन दाहालले प्रधानले पदमा रहेकै बेला कानूनविपरीत दोस्रो बजारमा शेयर खरीदविक्री गरेको बारे सूक्ष्म अनुसन्धान गरी मुद्दाका लागि प्रक्रिया अघि बढाइएको बताए । अनुसन्धान सकेर मुद्दाका लागि फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइसकिएको दाहालले आर्थिक अभियानलाई जानकारी दिए । विभागका अर्का अधिकारीका अनुसार धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको कसुरमा मुद्दा दायर गर्न लागिएको हो ।

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने व्यवस्था ऐनमा छ ।

खासगरी प्रधानले नेपाल हाइड्रो डेभलपर्स कम्पनीको अध्यक्ष रहँदा र पदबाट हटेको १ वर्ष नहुँदै आफ्नो तथा पारिवारिक सदस्यको नामको उक्त कम्पनीको शेयर विक्री गरेका थिए । सरकारी वकिल कार्यालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणले तयार गरेर पठाएको अनुसन्धान प्रतिवेदनमा प्रधान र उनको परिवारलाई ५२ करोड रुपैयाँ जरीवानासहित मुद्दा हाल्न सिफारिश गरिएको छ । 

अनुसन्धानमा नेपाल हाइड्रो डेभलपर्सका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र उनका परिवारका सदस्यहरूले कम्पनीको ५ लाख ११ हजार ५६२ कित्ता शेयर विक्री गरी २६ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी अवैध लाभ आर्जन गरेको दाबी गरिएको छ ।  शेयर विक्रीबाट प्राप्त रकम प्रधानले आफ्ना विभिन्न कम्पनीहरूमा लगानी गरेका थिए । साथै अन्य उद्योगहरूमा पनि प्रयोग गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।  शेयर विक्री २०७८ साल आसपासमा भएको छ, जुन समयमा कम्पनीको शेयर मूल्य असामान्य रूपमा बढेको थियो । त्यसपछि क्रमश: घट्दै गएको पाइएको प्रतिवेदनमा भनिएको छ ।

  •  धितोपत्र बोर्डद्वारा प्रधानलाई ७५ हजार रुपैयाँ जरीवाना र १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक बन्न रोक
  •  अनुसन्धान प्रतिवेदनमा प्रधान र उनको परिवारलाई ५२ करोड रुपैयाँ जरीवानासहित मुद्दा हाल्न सिफारिश 
  •  नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर विक्री गरी २६ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी अवैध लाभ आर्जन गरेको दाबी 

​​​​​​​सरकारी वकिल कार्यालयले विभागको प्रतिवेदनमा थप अध्ययन गरी अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । कार्यालयका प्रवक्ता सीताराम अर्यालले आर्थिक अभियानसँग कुराकानी गर्दै प्रतिवेदनमाथि सूक्ष्म अध्ययन थालिसकिएको र १ हप्ताभित्रै टुंगाइने बताए । ‘अनुसन्धानका विविध पाटाहरूलाई हेरिँदै छ, कतिपय विषयमा अनुसन्धान कम भएको, प्रमाण नपुगेको भए ती विषयमा समेत पुन: गर्नू भनेर अनुसन्धानकर्तालाई नै फाइल फिर्ता पठाउनसमेत सकिनेछ,’ उनले अभियानसँगको कुराकानीमा भने । 

सम्पत्ति शुद्धीकरणले पठाएको अनुसन्धान प्रतिवेदन पूर्ण भए हप्ता/दश दिनभित्रै अदालतमा मुद्दा चलाइनेछ । ‘अनुसन्धान पूर्ण भएको फाइल रोकिँदैन,’ उनले भने, ‘हामीले राय मात्रै दिने हो, त्यो रोक्ने अधिकार हामीलाई छैन ।’ यसअघि इन्साइडर ट्रेडिङकै मामलामा गुरुप्रसाद न्यौपानेमाथि पनि विभागले छानबिन गरेको थियो । उनी उच्च अदालतबाट पनि दोषी प्रमाणित भइसकेका छन् । विशेष अदालतले न्यौपानेलाई शेयरमा भित्री कारोबारमार्फत सम्पत्ति शुद्धीकरण गरेको मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो । 

न्यौपानेलाई ३ करोड ९८ लाख २० हजार ५०४ रुपैयाँ जरीवाना पनि तोकिएको थियो । शेयरको भित्री कारोबारलाई सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको यो पहिलोपटक थियो । प्रधान र न्यौपानेमाथि एकै समयमा अनुसन्धान थालिए पनि न्यौपानेको मात्र मुद्दा अगाडि बढेको थियो । तर, पछिल्लो समय शक्तिकेन्द्रलाई समेत रिझाउन प्रधानले नसकेको र प्रधानमन्त्रीले समेत अनुसन्धान सकेर थप प्रक्रिया अघि बढाउन निर्देशन दिएकाले उनीमाथि मुद्दा दायारको तयारी अघि बढेको उच्च स्रोतले बतायो । 

त्यसो त नेपालमा पछिल्ला वर्षहरूमा ‘इन्साइडर ट्रेडिङ’ गर्ने काम अत्यधिक बढिरहेको देखिन्छ । यसै क्रममा राधी विद्युत् कम्पनीमा पनि अध्यक्ष अनिलकुमार रुंगटाले नै ‘इन्साइडर ट्रेडिङ’ गरेको फेला परेका थियो । रुंगटाले २०७८ असारमा अध्यक्ष पदबाट राजीनामा दिनुअघि नै लाखौं कित्ता शेयर विक्री गरेका थिए । खुला रूपमा भित्री कारोबार भएको भनी यसको विरोध लगानीकर्ताबाटै भएपछि धितोपत्र बोर्डले २०७८ असार १ मा विज्ञप्ति निकालेर अस्वाभाविक मूल्य बढेका कम्पनीको छानबिन गरी त्यसमा संलग्नलाई कारबाहीको प्रतिबद्धता व्यक्त गरेको थियो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.