काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउनदेखि वैशाखसम्म विदेशीले नेपालमा गरेको खर्चभन्दा दोब्बर बढी रकम नेपालीले विदेशमा खर्च गरेका छन् ।
चालू आवको १० महिनामा विदेशी (नेपाल आउने विदेशी पर्यटक/विद्यार्थीलगायत)ले नेपालमा रु ७५ अर्ब ७१ करोड खर्च गरेका छन् भने नेपाली (विदेश घुम्दा/उपचार गर्दा र विद्यार्थीको अध्ययन)ले विदेशमा रु १ खर्ब ८५ अर्ब ३ करोड रकम खर्च गरेका छन् । फलस्वरुप चालू आवको १० महीना (साउनदेखि वैशाखसम्म) मा खुद सेवा आय रु ८६ अर्ब ५३ करोडले घाटामा रहेको छ ।
अघिल्लो आवको सो अवधिमा सेवा आय घाटा रु ५० अर्ब ३१ करोड घाटामा रहेको थियो भने चालू आवको सो अवधिमा सेवा आय घाटा गत आवभन्दा रु ३६ अर्ब २२ करोडले बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको चालू आव २०८१/८२ को १० महिनाको देशको वर्तमान तथा आर्थिक तथा वित्तीय स्थितिले सेवा आयमा घाटा बढ्दै गएको देखाएको हो ।
समीक्षा अवधि (२०८१ साउनदेखि २०८२ वैशाखसम्म) मा सेवा खाताअन्तर्गत भ्रमण आय (नेपाल आउने विदेशी पर्यटक/विद्यार्थी लगायतले गर्ने खर्च) रकम ८.६ प्रतिशतले बढेको भए पनि घाटा बढेको छ । अघिल्लो आवको सोही अवधिमा भ्रमण आय रु ६९ अर्ब ७३ करोड रहेको थियो ।
भ्रमण आय रकम गत आवको सोही अवधिको तुलनामा करीब ६ अर्बले बढे पनि नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्नका लागि गरेको खर्च चालू आवको १० महीनामा रु ८ अर्बभन्दा बढीले वृद्धि भएको छ ।
अघिल्लो आवको १० महीना (२०८० साउनदेखि २०८१ वैशाखसम्म)मा भ्रमण व्यय (नेपालीले विदेश घुम्दा/उपचार गर्दा र विद्यार्थीको अध्ययन खर्च) रु १ खर्ब ५६ अर्ब ९५ करोड रहेकोमा चालू आवको १० महीनामा सेवा खाताअन्तर्गत यस्तो भ्रमण व्यय १७.९ प्रतिशतले बढेर रु १ खर्ब ८५ अर्ब ३ करोड पुगेको छ । यसरी भ्रमण व्यय गत आवको १० महीनाको तुलनामा चालू आवमा रु २८ अर्ब ८ करोडले बढेको छ‚ जसमा शिक्षातर्फको व्यय रु ८ अर्ब १९ समावेश छ ।
यो भ्रमण व्ययमध्ये शिक्षा (विदेशमा अध्ययन गर्न जाने विद्यार्थी)तर्फको व्यय रु १ खर्ब १२ अर्ब ४४ करोड रहेको छ । गत आवको १० महीनामा शिक्षातर्फको यस्तो व्यय रु १ खर्ब ४ अर्ब २५ करोड रहेको थियो । गत आवको यही अवधिमा भन्दा चालू आवको यही अवधिमा शिक्षातर्फको व्यय रु ८ अर्ब १९ करोडले बढेको छ अर्थात विदेशमा अध्ययन गर्ने जाने नेपाली विद्यार्थीको संख्या वर्षेनि बढ्दै गइरहेको छ ।