काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंक बढेको छ । यस दिन नेप्से परिसूचक ४ दशमलव ७८ अंक बढेर २ हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको हो । बिहीवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशलमव २३ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशलमव ०४ प्रतिशत वृद्धि भएको छ ।
यस दिन ३१३ धितोपत्रको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर ५३ हजार ६१९ पटकमा रू. २ अर्ब ६५ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनाा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३१५ दशमलव ७० पुगेको छ । शेयर मूल्य बढ्ने सूचीमा दोस्रोमा रहेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर रू. १ हजार ८२ दशमलव ७० पुगेको छ ।
बिहीवार दुई कम्पनीको शेयरमा नेगेटिभ सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य रू. १ हजार ४८५ र धौलागिरी लघुवित्तको रू. १ हजार ३०८ दशमलव ६० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सर्वोत्तम सिमेन्टले ओगटेको छ । यस कम्पनीको रू. १९ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुनेमा दोस्रोमा रहेको गोर्खाज फाइनान्सको रू. १६ करोड १९ लाख बरावरको भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी २ दशमलव ४० प्रतिशत वृद्धि भएको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ६६ प्रतिशत घटेको छ ।