काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सातौं कारोवार दिन पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएकै दिनदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको छ ।
पहिलो कारोबार दिन कम्पनीको शेयर ५ सय ५६ रुपैयाँमा कारोबार भएको थियो । यो कम्पनीको नेटवर्थको तीन गुणा हो । कारोबार शुरु भएयता सात कारोबार दिनसम्म सर्किटमै कारोबार हुँदा कम्पनीको शेयर प्रतिकित्ता एक हजार ८३ रुपैयाँमा खरीदविक्री भइरहेको छ ।
बिहीवार यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा ९ लाख ९१ हजार ४३२ कित्ता शेयर खरीद माग छ भने सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको रू. ११ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस कम्पनीको आईपीओमा करीब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए । लगानीकर्ताले शेयर भर्न प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता शेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए ।