काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा सुनको वैधानिक आयात घट्दो क्रममा रहेको देखिएको छ । अन्तरराष्ट्रिय बजारमा सुनमा मूल्य उच्च रहेको बेला विगत ११ महीनामा नेपालमा सुन आयात घटेको छ ।
भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ को जेठसम्म नेपालमा २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपैयाँ बराबरको सुन आयात भएको थियो । तर चालू आवको सोही अवधिमा १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँको मात्रै सुन आयात भएको देखिएको छ ।
आव २०७९/८० को ११ महीनामा नेपालमा ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपैयाँको सुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सुनको मूल्य जसरी बढ्दै गयो त्यसैगरी बजार माग पनि घट्दै गएकाले आयात घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए । उनका अनुसार यतिबेला नेपालमा मात्रै नभई विश्वका अन्य मुलुकमा पनि सुनको माग घटेको छ । अहिले जताततै मन्दी छाएकाले उपभोक्ताको क्रयशक्ति पनि घटेको छ ।
‘क्रयशक्ति घटेसँगै उपभोक्तामा सुनका गहना लगाउने सोख घटेको छ । विगतमा वैशाख, जेठमा विवाहको सिजन शुरू हुँदा दैनिक ४० किलोसम्म सुनको माग हुने गर्थ्यो । तर, यो वर्ष वैशाख, जेठमा दैनिक १० केजी पनि सुन विक्री हुन सकेन,’ उनले भने । ‘महँगो भएर सुन लगाउँदै नलाउने होइन तर पहिला धेरै खरीद हुन्थ्यो अहिले कम खरीद गर्छन् । मान्छेहरूले विगतमा ५/७ तोलासम्मको रानीहार अर्डर गर्थे, अहिले बढीमा डेढदेखि दुई तोलासम्मको मात्रै रानीहार बनाउँछन् ।’
सरकारले चालू आवको बजेटमार्फत सुन आयातमा २० प्रतिशत भन्सार लगाएको थियो । त्यसको असरले गर्दा गत मङ्सिरसम्मै सुनको आयातमा असर गरेको उनको भनाइ छ । भारतले सुनको भन्सार दर १५ बाट घटाएर ६ प्रतिशतमा कायम गरेपछि नेपालले पनि गत मङ्सिरमा सुनमा लाग्ने भन्सार दर घटाएर १० प्रतिशत कायम गरेको थियो ।
मूल्य बढेसँगै सुन बेच्न चाहनेको संख्या बढेकाले सुनको आयात कम भएको उनको दाबी छ । सरकारले जुनसुकै परिमाणको सुनमा २ प्रतिशत विलासी कर लगाउने निर्णय नयाँ बजेटबाट गरेपछि सुन व्यवसायी आन्दोलित भएका छन् । १० लाख रुपैयाँभन्दा बढी मूल्यको सुन र सुनका गरगहनामा चालू आवको बजेटमार्फत २ प्रतिशत विलासी कर लगाइएको थियो ।
पछिल्लो समय विदेशबाट फर्किंदा सुन लिएर आउने चलनले बैंकमार्फत हुने सुनको कारोबारमा कमी आएको रसाइलीको भनाइ छ ।
एक वर्षमा ७० हजार रुपैयाँले बढ्यो सुनको भाउ
सुनको भाउ पछिल्लो १ वर्षमा ७० हजार रुपैयाँले बढेको छ । महासंघका अनुसार पोहोर असार ७ गते एक तोला छापावाल सुनको मूल्य १ लाख २४ हजार ५५ रुपैयाँ थियो ।
तर, यस वर्षको असार ६ मा छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६४५ रुपैयाँले बढेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारको प्रभाव, अमेरिकी ब्याजदर नीति, भूराजनीतिक अस्थिरता, उच्च भन्सार दर र आपूर्ति–मागको असन्तुलन सुनको मूल्य बढ्नुका प्रमुख कारण भएको व्यवसायीको तर्क छ ।