काठमाडौं । सर्वोच्च अदालतले महिलाले महीनावारीका बेला प्रयोग गर्ने स्यानिटरी प्याडमा लाग्दै आएका सबै प्रकारका कर हटाउन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलले बुधवार कर हटाउन आदेश जारी गरेपछि यस्ता वस्तुको मूल्य केही घट्न सक्ने देखिएको छ ।
- कर हटाउन माग गर्दै २०७८ साउन २८ गते रिट निवेदन
- गत बुधवार गर्यो सर्वोच्चले फैसला
- स्यानिटरी प्याडमा ५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर
- चालू आर्थिक वर्षको जेठसम्ममा १ अर्ब २४ करोड ५३ लाख रुपैयाँको आयात
स्यानिटरी प्याड विलासिताको वस्तु नभई आवश्यकता हो भन्दै यसमा लगाउँदै आएका सबै प्रकारका कर हटाउन सरकारका नाममा परमादेश माग गर्दै कानूनका विद्यार्थीद्वय श्रीना नेपाल र अभ्युदय भेटवालले २०७८ साउन २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । त्यसको झन्डै ४ वर्षपछि २०८२ असार ४ गते सर्वोच्चले कर हटाउन परमादेश जारी गरेको हो ।
उनीहरूले महिलाले महीनावारीको बेला प्रयोग गर्ने स्यानिटरी उत्पादन विलासिताको वस्तु नभई आवश्यकताको वस्तु भएका भन्दै १३ प्रतिशत मूल्य अभिवृद्धि कर र भन्सार महशुल हटाउन निरन्तर पैरवी गर्दै आएका थिए । स्यानिटरी उत्पादनलाई आधारभूत स्वास्थ्य सुविधाअन्तर्गत राख्न परमादेश जारी गरी पाउँ भन्दै रिट हालिएको थियो ।
सर्वोच्च अदालतले निष्पक्ष न्याय गरेको भन्दै उनले फैसलाको पूर्ण पाठ आएपछि मागअनुसार फैसला आए/नआएको स्पष्ट हुने बताइन् । आर्थिक अभियान दैनिकसँगको कुराकानीमा उनले भनिन्, ‘हाम्रो माग आयात हुने र आन्तरिक उत्पादन दुवै खाले स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउनुपर्छ भन्ने हो । अदालतमा बुझ्दा सबै खाले कर हटाउने परमादेश जारी भएको जानकारी आएको हुँदा यसमा लागेका सबै कर हट्ने विश्वास छ ।’ उनले हालसम्म स्यानिटरी प्याडबाट उठाइएको कर पनि महिला स्वास्थ्यकै क्षेत्रमा खर्चिनुपर्ने बताइन् । यसका लागि सरकारले कर रकम कोषमा राखेर स्यानिटरी स्वास्थ्य र महिला प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउनुपर्नेमा जोड दिइन् ।
अहिले तयारी स्यानिटरी प्याड आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ । प्याड बनाउन आवश्यक पर्ने कच्चा पदार्थमा १२ प्रतिशतसम्म भन्सार तिर्नुपरेको नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले जानकारी दिए । आयातित स्यानिटरी प्याडमा ५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दा कुल कर १८ प्रतिशत पुग्छ । सर्वोच्चको आदेशका विषयमा जानकार भए पनि पूर्ण पाठ नआउँदासम्म कर के कस्तो अवस्थामा लाग्ने हो भन्ने यकीन नहुने उनले बताए ।
अधिकारीका अनुसार अहिले नेपालमा स्यानिटरी प्याडका ६ ओटा ठूला र २०/२५ साना उद्योग छन् । यी उद्योगले कुल क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरिरहेको अधिकारीको दाबी छ ।
गतवर्षको तुलनामा यो वर्ष स्यानिटरी प्याड आयात घटेको देखिन्छ । नेपालले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को जेठसम्ममा अस्ट्रेलिया, अस्ट्रिया, चीन, भारत, हङकङ, फ्रान्स, इजरायल, कोरिया, फिलिपिन्स, कतार, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिकालगायत देशबाट प्याड आयात गरिएको छ ।
१४ देशबाट नेपालमा प्याड आयात भए पनि सबैभन्दा धेरै भारत, चीन, फिलिपिन्स र दक्षिण कोरियाबाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालू आवको जेठसम्ममा नेपालले १ अर्ब २४ करोड ५३ लाख रुपैयाँको स्यानिटरी प्याड आयात गरेको छ । भारतबाट मात्रै नेपालले जेठसम्ममा ९० करोड २८ लाख रुपैयाँको प्याड आयात भएको छ ।
यस्तै नेपालबाट भारतमा मात्रै स्यानिटरी प्याड निर्यात भएको देखिन्छ । आव २०७८/७९ मा नेपालले बंगलादेशमा पनि यस्तो सामान निर्यात गरेको देखिन्छ । तर, परिमाण कम थियो । उक्त वर्ष नेपालबाट बंगलादेशमा १८ हजार रुपैयाँको प्याड निर्यात भएको थियो । त्यसयताका वर्षहरूमा भने भारतमा मात्रै स्यानिटरी प्याड निर्यात भइरहेको छ ।