आर्थिक वर्ष २०७५/७६ देखि नै सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न पहल भए पनि चालू आवको शुक्रवार चैत ३० गतेको मन्त्रिपरिषद्ले विधिवत् राष्ट्रिय फलको मान्यता दिएको छ ।
राष्ट्रिय जनावर, राष्ट्रिय पक्षीबारे संविधानमै उल्लेख गरिए पनि राष्ट्रिय फलबारे केही उल्लेख गरिएको छैन ।सुन्तला विज्ञ, सुन्तला अनुसन्धानमा संलग्न बागवानी केन्द्रका कर्मचारी र सुन्तलाखेती गर्ने किसानहरू यसबाट खुशी होलान् तर यस्तो घोषणाले मात्र सुन्तलाको उत्पादन र बजारीकरणमा खासै केही फरक पार्ने देखिँदैन । त्यसैले यसलाई भौगोलिक संकेतको वस्तुको मान्यता दिई यसलाई बौद्धिक सम्पत्तिका रूपमा मान्यता दिलाउन आवश्यक छ । यसो गर्न भने यो घोषणाले केही सहयोग गर्न सक्छ ।
नेपालको ७७ जिल्लामध्ये ५८ जिल्लामा सुन्तलाखेती भइरहेको छ । तराईका केही जिल्लाबाहेक नेपालका सबैजसो जिल्लामा सुन्तलाको खेती हुन्छ । त्यस्तै सुन्तला नेपालको निकै पुरानो फल पनि हो । सुन्तलाको उत्पत्ति कहाँ भएको हो भन्ने स्पष्ट नभए पनि एशियाली मुलुकबाट नै यसको उत्पत्ति र प्रचार भएको मानिन्छ ।
सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपालमा २७ हजार ९८२ हेक्टरमा सुन्तला खेती भएको थियो । त्यस वर्षको उत्पादन १ लाख ८५ हजार ३४६ मेट्रिक टन थियो ।
देशभित्र सुन्तलाको वार्षिक लगभग ३० अर्ब ६१ करोड रुपैयाँको कारोबार हुने गरेको छ । सुन्तलाको खेतीबाट ७ लाखभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको बताइन्छ । त्यसैले सरकारले यसलाई राष्ट्रिय फल घोषणा गरेको हो भन्ने देखिन्छ । कुनै फललाई राष्ट्रिय घोषणा गर्दैमा त्यसको उत्पादन बढ्ने होइन न त त्यसमा देखिएका समस्या नै समाधान हुने हुन् । तैपनि सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नुमा सरकारले यसलाई नेपालको रैथाने फलका रूपमा विश्व बजारमा चिनाउने उद्देश्य राखेको देखिन्छ ।
भौगोलिक संकेत (जिओग्राफिकल इन्डिकेशन) अधिकारलाई अन्तरराष्ट्रिय व्यापारमा बौद्धिक सम्पत्तिको मान्यता दिइएको छ र यसको संरक्षण पनि बौद्धिक सम्पत्तिका रूपमा गरिन्छ । राष्ट्रिय बौद्धिक सम्पत्ति नीति २०७३ ले भौगोलिक संकेतलाई पनि बौद्धिक सम्पत्तिका रूपमा व्याख्या गरेको छ । २०७६ सालमा संशोधित औद्योगिक व्यवसायसम्बन्धी ऐनले पनि भौगोलिक संकेतलाई बौद्धिक सम्पत्तिको मान्यता दिएको छ । भौगोलिक संकेतका वस्तु प्रतिस्पर्धी हुन्छन्, उच्च मूल्यका पनि हुन सक्छन् ।
साथै, तिनमा तुलनात्मक लाभको सम्भावना पनि बढी हुन्छ । सुन्तलाको हकमा नेपालले यस्तो पहिचान कायम गराउन र त्यसअनुसार लाभ लिन निकै काम गर्नुपर्ने हुन्छ । साथै, सुन्तलाखेती हुने भारतलगायत मुलुकले यसमा बौद्धिक सम्पत्तिको अधिकार दाबी गर्न पनि सक्छन् । नेपालको आवाज विश्वले राम्ररी नसुन्ने र उत्पादन पनि थोरै परिमाणमा हुने भएकाले भौगोलिक संकेतका वस्तुका रूपमा सुन्तलाको ब्रान्ड अधिकार नेपालले पाउन निकै संघर्ष गर्नुपर्ने हुन्छ ।
नेपालले बासमती धानमा आफ्नो दाबी गरे पनि भारत र पाकिस्तानको दाबी बलियो छ । त्यस्तै नीमको ब्रान्ड भारतले लिएको छ तर नेपालले त्यसमा दाबी गर्न सकेको छैन । यस्तो बौद्धिक अधिकार स्थापित गर्न नसके भोलिका दिनमा निर्यातमा समस्या आउन सक्छ ।
सामाजिक खपतका लागि मात्रै यस्तो घोषणा गर्नुको अर्थ नभएकाले राष्ट्रिय फलको उत्पादन कुन स्तरमा बढाउने, क्षेत्रफल कसरी विस्तार गर्ने, त्यसको मौलिकता कसरी कायम गर्ने र विश्वबजारमा निर्यातयोग्य कसरी बनाउने भनेर पर्याप्त काम गर्नु आवश्यक देखिन्छ ।
सन् १८८३ मा पेरिसमा भएको औद्योगिक सम्पत्तिसम्बन्धी सम्मेलनले उत्पत्तिको स्रोतको पहिचानलाई संरक्षण गर्ने सिद्धान्त स्थापित गरेको छ । त्यस्तै विश्व व्यापार संगठनको बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी सहमति (ट्रिप्स)ले पनि भौगोलिक संकेतका उत्पादनलाई अन्तरराष्ट्रिय कानूनी मान्यता दिएको छ र यसलाई संरक्षण प्रदान गरेको छ । त्यसैले नेपालले भूगोल, वातावरण र संस्कृतिका आधारमा विशिष्ट उत्पादनलाई बजारीकरण गर्न सक्नुपर्छ । नेपालका जुडीबुटीहरू, अलैची, अदुवा, जुजुधौ, पश्मिना, मह आदि वस्तु यसमा पर्छन् ।
फलफूलमा सुन्तलालगायत पर्न सक्छन् । सुन्तला र सुन्तलावर्ग फरक कुरा हुन् । सुन्तलावर्गभित्र कागती, भोगटे, जुनार, निबुवा, ज्यामिर, बिमिरो पर्छन् । यी वस्तुको निर्यातमा सरकारले विशेष पहल गर्न सक्नुपर्छ ।
नेपालबाट अहिले केही मात्रामा सुन्लता निर्यात भइरहेको छ । नेपालको सुन्तला अझ भन्ने हो भने जुनारमा चीनले विशेष चासो दिएको छ । यसको निर्यातका लागि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा अमिलो जातका फलफूल निर्यात सम्बन्धमा सम्झौता भएको थियो ।
तर, प्रयोगशाला आदिको अभावलगायत कारण जुनारको निर्यात शुरू हुन सकेको छैन । जुनारको निर्यातको वातावरण बनाउन थाल्दा कोरोना महामारी आयो । त्यसपछि यसतर्फ न चीनले न त नेपालले नै थप प्रक्रिया अगाडि बढाएको छ । यस्तोमा नेपालले सुन्तलामात्र होइन यस वर्गमा पर्ने अन्य फलफूलको पनि बौद्धिक सम्पत्ति कायम गरी तिनलाई भौगोलिक संकेतका वस्तुका रूपमा निर्यातका लागि काम थाल्नुपर्छ ।
यद्यपि नेपालको कृषिप्रणालीमा रासायनिक मल र विषादीको प्रयोग लगायतका कुरा अन्तरराष्ट्रिय अभ्यासअनुसार मान्यता पाउने खालको नभएको देखिन्छ । त्यसैले सरकारले यस सम्बन्धमा स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नु आवश्यक देखिन्छ ।
नेपालमा सुन्तलाखेतीबारे निकै पहिलादेखि लेखअनुसन्धान प्रकाशित भएको पाइन्छ । त्यस्तै सरकारले सुन्तलाखेतीका लागि कार्यक्रम ल्याएको पनि निकै भएको देखिन्छ । तर, पछिल्लो समय नेपाली सुन्तलाले नेपालमै पर्याप्त बजार पाउन थालेपछि भने यसको खेती विस्तार हुँदै गएको छ । कतिपय पुराना बागवानीमा विभिन्न रोगका प्रकोप पनि देखिन थालेका छन् । नेपालको खास खास ठाउँको उत्पादनमा विशेष स्वाद पाइने भएकाले त्यसअनुसार सरकारले खेतीका लागि नीति बनाउनुपर्छ ।
सुन्तलामा लागेको रोगको उपचार कसरी गर्ने हो त्यसमा अनुसन्धान गर्नु जरुरी छ । यसको भौगोलिक विशेषता पहिचान गरी त्यसलाई जोगाउन पनि उत्तिकै जरुरी छ । अन्यथा धेरै देशमा खेती हुने सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्दैमा कुनै उपलब्धि प्राप्त हुने देखिँदैन ।
सामाजिक खपतका लागि मात्रै यस्तो घोषणा गर्नुको अर्थ नभएकाले राष्ट्रिय फलको उत्पादन कुन स्तरमा बढाउने, क्षेत्रफल कसरी विस्तार गर्ने, त्यसको मौलिकता कसरी कायम गर्ने र विश्वबजारमा निर्यातयोग्य कसरी बनाउने भनेर पर्याप्त काम गर्नु आवश्यक देखिन्छ ।
गोरखा मनकामनाको सुन्तलालाई ब्रान्डिङ गरिए पनि र त्यहाँका सुन्तला निकै मन पराइए पनि त्यहाँको खेतीमा देखिएको समस्या समाधानमा ठोस काम भएको छैन । त्यसैले सरकारले यी सबै पक्षलाई ध्यान दिएमा मात्रै राष्ट्रिय फल घोषणा गर्नुको प्रयोजन सिद्ध हुन्छ ।