काठमाडौं । सोमवार निकै उतारचढावका बीच नेप्से स्थिर बनेर बन्द भएको छ । गत बुधवार २ हजार ६९३ विन्दुमा बन्द भएको नेप्से चार दिनको बन्दपछि सोमवार २ हजार १५ दशमलव ९५ विन्दुदेखि खुला भएको थियो । कारोबार खुला भएको दुई मिनेटमा २ हजार ७२६ विन्दुसम्म पुगेको बजार दिनभरको कारोबारमा २ हजार ६८६ दशमलव ९३ विन्दुसम्म झरेको थियो । अन्तिममा १ दशमलव ६० अंकले मात्र बजार बढेर २ हजार ६९४ दशमलव ६६ विन्दुमा बन्द भएको हो ।
यस दिन ११५ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १३३ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य प्रतिकित्ता १४९ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता १ हजार ६४९ रुपैयाँ ४० पैसा कायम भएको हो । त्यस्तै पियोर इनर्जीको शेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँ बढेर अन्तिम मूल्य ३८५ रुपैयाँ कायम भएको छ । आईपीओ जारी गरेका यी दुई कम्पनी पछिल्लो समय दोस्रो बजारमा सूचीकृत भएका हुन् ।
सोमवार भूगोल इनर्जीको शेयर मूल्य भने सर्वाधिक ६ दशमलव ४५ प्रतिशत घटेको छ । प्रतिकित्ता ५२ रुपैयाँ १८ पैसाले घटेर भूगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ७५६ रुपैयाँ ३० पैसा कायम भएको छ ।
अघिल्लो कारोबार दिनभन्दा यो दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन बुधवार ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँभन्दा बढीको २ करोड ७ लाख ५९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको २ करोड २० लाख ३१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा ङादी ग्रुप पावरको सर्वाधिक हिस्सा रहेको छ । ङादी ग्रुप पावरको सोमवार ८७ करोड ४७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । पछिल्लो समय यस कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार हुँदै आएको छ । वैशाख महीनामा कुल कारोबारमा यस कम्पनीको सर्वाधिक हिस्सा रहेको छ । सर्वाधिक रकमको कारोबार हुँदै आएको कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता १० रुपैयाँ ८३ पैसाले घटेर अन्तिम मूल्य ३८८ रुपैयाँ कायम भएको छ ।
सोमवार अघिल्लो कारोबार दिनभन्दा कुल बजार पूँजीकरण ४ अर्ब ९ करोड ४८ लाख रुपैयाँले वृद्धि भई ४४ खर्ब ८७ अर्ब ८९ करोड ९० लाख रुपैयाँ कायम भएको छ । यस दिन होटल तथा पर्यटन र लगानी समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ३९ प्रतिशत र लगानी समूहको २ दशमलव २८ प्रतिशत परिसूचक बढेको हो ।
यस्तै, विकास बैंकको शून्य दशमलव २९ प्रतिशत, वित्तको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य १ प्रतिशत र अन्यको शून्य दशमलव ३६ प्रतिशत परिसूचक बढेको छ । यीबाहेक बाँकी समूहको परिसूचक भने घटेको छ । यो दिन बैंकिङ समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ५९ प्रतिशत घटेको छ ।